संयुक्त राज्य अमेरिकाको न्यूयोर्क न्यूजर्सी स्टेडियममा आइतबार हुने फिफा विश्वकप २०२६ को फाइनल खेलमा नियमविपरीत ‘हाफटाइम’ को विश्राम अवधि २० देखि २५ मिनेटसम्म लम्बिने भएको छ।
फुटबलको स्थापित १५ मिनेटको नियमलाई तोड्दै पहिलोपटक विश्वकप फाइनलको मध्यान्तरमा मडोना र बीटीएस जस्ता चर्चित कलाकारहरूको विशेष साङ्गीतिक प्रस्तुति समेटिएको ११ मिनेट लामो ‘सुपर बोल’ शैलीको कार्यक्रम आयोजना गरिने भएको हो।
खेलका नियमहरू तय गर्ने अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्डको नियमानुसार खेलाडीहरूले १५ मिनेटभन्दा बढी मध्यान्तर विश्राम पाउनु हुँदैन। तर, फिफा सम्बद्ध स्रोतहरूका अनुसार यसपटक परम्परागत १५ मिनेटको विश्रामका अतिरिक्त ११ मिनेट लामो साङ्गीतिक कार्यक्रम थपिने भएकाले खेलको मध्यान्तर अवधि लम्बिने निश्चित भएको छ।
यसअघि गत वर्ष न्यूजर्सीमै खेलिएको क्लब विश्वकप फाइनलमा पनि यस्तै साङ्गीतिक प्रस्तुति गर्दा विश्राम अवधि लम्बिएर खेलको दोस्रो हाफ २४ मिनेटपछि मात्र सुरु भएको थियो।
कोल्डप्लेका गायक क्रिस मार्टिनले ‘क्युरेट’ गरेको यस हाफटाइम शोमा मडोना र के-पप ब्यान्ड बीटीएसका साथै गत साता सूचीमा थपिएका जस्टिन बिबर, बर्न बोइ, गुस्ताभो दुदामेल र कोल्डप्लेको उपस्थितिमा ‘पीएस २२ कोरस’ ले प्रस्तुति दिनेछन्।
उपाधिका लागि स्पेनले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: २ श्रावण २०८३ १८:२७ शनिबार