खेल

२०औं एसियाली खेलकुद: लामो तयारीले जगाएको आशा

ओलम्पिक तथा विश्व च्याम्पियनसहित एसियाका ४५ देशका करिब ११ हजार खेलाडीको चुनौती रहने २०औं एसियाली खेलकुदको खेल प्रतिस्पर्धा जापानमा सुरु भइसकेको छ।

७५ वर्षे इतिहास बोकेको एसियाली खेलकुदको यस संस्करणमा कुल ४५ खेल विधामा एसियाली स्टारहरूले प्रतिस्पर्धा गर्दै छन्। यसमध्ये पाँच खेलको प्रतिस्पर्धा सुरु भइसकेको छ। अहिलेसम्म स्वर्ण पदक जित्न नसकेको नेपाली टोलीले पनि महिला भलिबलबाट २०औं एसियाली खेलकुदको यात्रा सुरु गरे पनि सुखद रहेन।

नागोया सहरस्थित कोमाकी पार्क एरिनामा बुधबार भएको पहिलो खेलमै नेपाली महिला भलिबल टोली जापानसँग ३–० को सोझो सेटमा पराजित हुन पुग्यो। जापानको नागोया/आइची सहरमा तय एसियाली खेलकुदको २०औं संस्करणको औपचारिक उद्घाटन असोज ३ गते हुने तयारी छ। एसियाकै बहुप्रतीक्षित खेल महोत्सवमा नेपालले २१ खेलमा कुल १३५ खेलाडी उतार्दै छ।

जापानको नागोया र आसपासको आइची प्रिफेक्चरलाई मुख्य आयोजनास्थल बनाइएको यसपटकको एसियाड नेपालका लागि सहभागिताभन्दा माथि उठेर पदकको संख्या र प्रतिस्पर्धात्मक प्रदर्शन सुधार गर्ने अर्को अवसरका रूपमा रहनेछ। यसको बलियो आधार पनि छ।

गत १९औं संस्करण सकिएको केही समयपछि नै नेपालले यस संस्करणको तयारी थालेको थियो। मिसन २६ को नामबाट लामो समयको तयारीका कारण यसपल्ट खेलाडी र नेपाली खेलकुदले नयाँ इतिहास रच्ने आशा छ। नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालीन सदस्यसचिव टंकलाल घिसिङले एक स्वर्ण पदकसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राख्दै उक्त मिसन सुरु गरेका थिए।

अहिलेसम्म स्वर्ण जित्न नसकेको एसियाली खेलकुदमा इतिहास रच्न सहज भने हुने छैन। किनकि विश्व खेलकुदको मञ्चमा चीन, जापान, कोरिया र भारतजस्ता खेलक्षेत्रका बलिया राष्ट्रका खेलाडी एसियाली खेलकुदका प्रतिस्पर्धी हुन्। विश्व खेलकुदकै स्टार पनि यो महादेशमा छन्।

नेपालले एसियाली खेलकुदमा पहिलो पटक सन् १९५१ मा सहभागिता जनाएको थियो। त्यसयता नेपालले दोस्रो संस्करण (सन् १९५२ मनिला) र चौथो संस्करण (सन् १९६२) को एसियाली खेलकुदमा सहभागी नभएको तथ्यांक भेटिन्छ। त्यसबाहेक नियमित रूपमा नेपालले एसियाली खेलकुदमा सहभागिता जनाउँदै आएको छ। ७५ वर्षको इतिहासमा नेपालले अहिलेसम्म स्वर्ण पदक जित्न भने सकेको छैन। तीनपल्ट स्वर्ण नजिक पुगेर पनि नेपाल चुकेको छ।

तेक्वान्दोकी सविता राजभण्डारी, प्याराग्लाइडिङमा नेपालको पुरुष टोली (टिम क्रस कन्ट्री) र करातेकी एरिका गुरुङ स्वर्ण नजिक पुगेर चुकेका खेलाडी हुन्। गत संस्करणमा ऐतिहासिक रजक पदक दिलाएकी एरिका यसपल्ट पनि आशा गरिएकी खेलाडी हुन्। उनी करातेको कुमितेतर्फ प्रतिस्पर्धा गर्न नागोया पुगिसकेकी छन्।

नेपालको उत्कृष्ट उपलब्धि तेक्वान्दो र करातेमा आएको छ। तेक्वान्दोमा नेपालको पछिल्ला नतिजा सुखद छैनन् तर करातेले भने धेरै आशा जगाएको छ। अन्य खेलले पनि नतिजा दिन सक्ने क्षमता राख्छन्। हरेक संस्करणको एसियाली खेलकुदमा नेपालका लागि नयाँ खेलाडीको उदय भएका उदाहरण छन्। अप्रत्याशित नतिजाले नेपाललाई सन् १९८६ यता पदकविहीन हुनबाट जोगाएको छ।

यस पल्ट लामो समयदेखिको तयारीका कारण अन्य खेलका खेलाडीले पनि पदक जित्ने विश्वास व्यक्त गरेका छन्। बक्सिङ, उसु, कबड्डी र जुडोका खेलाडीहरू नागोयामा इतिहास रच्ने अठोट लिँदै जाने तयारीमा छन्। बक्सिङ र कबड्डीले यसअघि नै प्रमाणित पनि गरिसकेको छ। एसियाली खेलकुदमा सबैभन्दा धेरै पदक जित्ने नेपालको दोस्रो खेल बक्सिङ हो भने कबड्डीले पछिल्ला अन्तर्राष्ट्रिय सहभागिता राम्रो नतिजा दिँदै आएको छ।

अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव र पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा खेलाडीले देखाएको प्रदर्शनले नेपाली टोलीको आत्मविश्वास बढाएको छ। तर, एसियाली स्तरमा बलिया राष्ट्र चीन, जापान, दक्षिण कोरिया, भारत, इरान, कजाकिस्तान र पाकिस्तानलगायतसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नेपाली खेलाडीका लागि चुनौती पनि उत्तिकै ठूलो छ।

यस पटकको एसियाडमा कुल ४३ खेलमा प्रतिस्पर्धा हुँदै छ। एथलेटिक्स, पौडी, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट, फुटबल, गल्फ, जिम्न्यास्टिक्स, टेबल टेनिस, टेनिस र भारोत्तोलन प्रमुख आकर्षणका खेल रहनेछन्। युवा पुस्तालाई आकर्षित गर्ने उद्देश्यले ईस्पोर्ट्स, ब्रेकडान्सिङ र बिएमएक्स साइक्लिङलाई पनि महत्त्व दिइएको छ। प्याडल, मिश्रित मार्सल आटर्स (एमएमए) र टेकबलले पहिलोपटक एसियाली खेलकुदमा स्थान बनाएका छन्।

नेपालले पनि बदलिँदो एसियाली खेलकुदको स्वरूपअनुसार विभिन्न खेलमा सहभागिता जनाउँदै आएको छ। पुरुष क्रिकेटमा नेपाली खेलाडीको अन्तर्राष्ट्रिय प्रदर्शन पछिल्ला वर्षमा उल्लेखनीय बनेको छ। यो टोलीबाट पनि आशा गरिएको छ। नेपालले एसियाली खेलकुदको ७५ वर्षे लामो यात्रामा कुल २६ पदक जिते पनि स्वर्ण पदकको प्रतीक्षा अझै पूरा भएको छैन।

सन् १९८६ को सोल एसियाडमा तेक्वान्दोबाट पहिलोपटक पदक जितेको नेपालले त्यसयता विभिन्न संस्करणमा पदक थप्दै आएको हो। सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दो खेलाडीले नेपाललाई रजत पदक दिलाएका थिए। त्यसपछि पनि तेक्वान्दो, कराते र बक्सिङलगायत खेलबाट नेपाली खेलाडीले सफलता हासिल गरेका छन्।

सन् २०१४ को इन्चोन एसियाडमा नेपालले करातेबाट कांस्य पदक जितेको थियो। २०१८ को जकार्ता/पालेम्बाङ एसियाडमा पनि करातेले नेपालको पदक आशा कायम राखेको थियो। १९औं एसियाली खेलकुदमा नेपालले करातेबाट महत्त्वपूर्ण उपलब्धि हासिल गर्‍यो।

१३५ खेलाडीको चुनौती

नेपालबाट यसपटक २१ खेलमा १३५ खेलाडी सहभागी हुने तयारी छ। टोलीमा पुरुष खेलाडीको संख्या महिलाको तुलनामा बढी भए पनि विभिन्न खेलमा नेपाली महिला खेलाडीले पनि बलियो उपस्थिति जनाउनेछन्। एसियाली खेलकुदमा जापानले ९१९ खेलाडी उतार्दै छ। चीनका ८०३ र दक्षिण कोरियाका ७८० खेलाडी सहभागी हुँदै छन्।

थाइल्यान्ड, हङकङ, कजाकिस्तान र भारत पनि ठुलो टोलीसहित जापान पुगेका छन्। १० हजार ७९८ खेलाडीले प्रतियोगिताका लागि दर्ता गरेका छन्। प्रशिक्षक, व्यवस्थापक र अन्य पदाधिकारीसमेत जोड्दा सहभागीको संख्या करिब १७ हजार पुग्नेछ। यी ठूला खेल राष्ट्रको तुलनामा नेपाली खेलकुदको संरचना कमजोर भए पनि पदकको आशा रहेको छ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा संख्याभन्दा प्रदर्शन महत्त्वपूर्ण हुन्छ। जुन प्रदर्शन नेपाली खेलाडीबाट आउन सक्नेछ। नेपाली खेलाडीले यो प्रमाणित पनि गरिसकेका छन्। जापानले तेस्रो पटक एसियाली खेलकुद आयोजना गर्दै छ। यसअघि सन् १९५८ मा टोकियो र १९९४ मा हिरोसिमाले एसियाड आयोजना गरेका थिए।

नागोया जापानको चौथो ठूलो जनसंख्या भएको सहर हो। दोस्रो विश्वयुद्धमा ठूलो क्षति बेहोरेको यो सहर युद्धपछि पुनर्निर्माण हुँदै अहिले जापानको प्रमुख औद्योगिक तथा बन्दरगाह सहर बनेको छ। ३० हजार दर्शक क्षमताको मिजुहो पार्क एथलेटिक्स रंगशाला उद्घाटन, समापन तथा एथलेटिक्सको मुख्य केन्द्र हुनेछ।

खेलाडीका लागि यसपटक छुट्टै एथलेट्स भिलेज निर्माण गरिएको छैन। खर्च घटाउने उद्देश्यले केही खेलाडीलाई होटल तथा केहीलाई नागोया बन्दरगाहमा राखिएको क्रुज जहाजमा बसाउने व्यवस्था गरिएको छ। प्रतियोगिता अक्टोबर ४ सम्म चल्नेछ। यो अवधि नेपाली खेलकुदको आगामी पुस्ताका लागि नयाँ इतिहास लेख्ने अवसर पनि हो।

सन् १९५१ देखि सुरु भएको नेपालको एसियाड यात्रा सात दशकभन्दा लामो भइसकेको छ। अब स्वर्ण जित्ने नेपालको सपना पूरा हुन बाँकी छ। नेपाली खेलाडीले त्यो प्रतीक्षालाई कति नजिक पुर्‍याउँछन् भन्ने प्रतीक्षामा सिंगो देश रहनेछ। त्यसैले अबको दुई हप्ता नेपाली खेलप्रेमीकै नजर नागोया शहरमा हुनेछ। जहाँ नेपाली झन्डा फहरिन सक्नेछ।

प्रकाशित: १ आश्विन २०८३ ०६:३६ बिहीबार