काठमाडौं– अस्ट्रेलियामा सम्पन्न १८औं विश्व र्याफ्टिङ च्याम्पियनसिपअन्तर्गत आइतबार सम्पन्न डाउन रिभरतर्फको स्पर्धामा नेपाल छैटौं भएको छ।
क्विन्सल्यान्डस्थित टली नदीमा आइतबार सम्पन्न डाउन रिभरको स्पर्धासँगै नेपालले १८औं विश्व र्याफ्टिङ च्याम्पियनसिपको यात्रा टुङ्ग्याएको छ। डाउन रिभर अन्तिम दिनको प्रदर्शनसँगै नेपाली टिम च्याम्पियनसिपको शीर्ष १० मा रह्यो।
प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न स्लालोम स्पर्धामा समग्रमा १३औं स्थानमा रहेको नेपालले पुछारमा आठ देशको समूहबाट डाउन रिभरको प्रतिस्पर्धा सुरु गरेको थियो। उक्त समूहमा पहिलो भएको नेपालले निर्धारित दूरी ४६ मिनेट ४८.३० सेकेन्डमा पूरा गर्दा छैटौं स्थानमा रहँदै प्रतियोगिताको समापन गरेको हो।
सोही स्पर्धामा न्युजिल्यान्डले निर्धारित दूरी ४४ मिनेट ५८.४१ सेकेन्डमा पूरा गरी पहिलो बन्दा रूसले ४५ मिनेट ३३.२७ सेकेन्ड समय खर्चिएर दोस्रो र ब्राजिलले ४६ मिनेट २४.९७ सेकेन्ड समय खर्चिएर तेस्रो भए। १६ देशको सहभागिता रहेको प्रतियोगितामा नेपालभन्दा अघि चेक रिपब्लिक र जापान रहे।
आइतबारको समापनसँगै नेपाल समग्रतमा दशौं बन्यो। यो नै विश्व र्याफ्टिङ च्याम्पियनसिपमा नेपालको सबभन्दा राम्रो प्रदर्शन हो। पुरुष खुलामा ब्राजिलले उपाधि रक्षा गर्दा स्प्रिन्ट र स्लालोममा स्वर्ण पदक जितेको ब्राजिल हेड टु हेडमा पाँचौं र डाउन रिभरमा तेस्रो बने पनि चार स्पर्धाको अंकको आधारमा ब्राजिल पुनः विजेता बन्यो।
प्रकाशित: ६ जेष्ठ २०७६ ०४:५८ सोमबार