खेल

‘ए’ डिभिजन लिग : मनाङ मर्स्याङदीलाई च्यासल युथ क्लबको चुनौती

काठमाडौं – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मंगलबार (आज) शीर्ष स्थानको मनाङ मर्स्याङदीले च्यासल युथ क्लबको सामना गर्दैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २ः३० बजे सुरु हुनेछ।

मनाङ जारी लिगमा अपराजित एक मात्र टोली हो। उसले अहिलेसम्म लगातार ८ खेलमा जित हात पार्दै उपाधि यात्रा बलियो बनाएको छ। मनाङले यसअघि थ्री स्टार र त्रिभुवन आर्मी जस्ता ठूला क्लबलाई पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको थियो।

च्यासलविरुद्ध मैदानमा उत्रदा मनाङ ९ औं जित हात पार्दै तालिकामा स्पष्ट ३ अंकको अग्रता लिने लक्ष्यमा रहनेछ। मनाङको ८ खेलबाट २४ अंक छ। उसलाई पछ्याइरहेको संकटाको ९ खेलबाट समान २४ अंक नै छ।

च्यासल भने १३ अंकका साथ तालिकाको सातौं स्थानमा रहेको छ। उसले लिगको अघिल्लो खेलमा ब्रिगेट ब्वाइज क्लबलाई २–० गोलले पराजित गरेको थियो। आजको खेलमा च्यासलका स्ट्राइकर सन्तोष साहुखल भने हुने छैनन्। उनले ब्रिगेट ब्वाइजसँगको खेलमा रातो कार्ड पाएका थिए।

बिहान ११ बजे हुने आजको पहिलो खेलमा सशस्त्र प्रहरी बलको (एपिएफ) र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ। १० अंक जोडेको एपिएफ  आठौं र ३ अंक सहित मछिन्द्र १३ औ स्थानमा छ।

प्रकाशित: ३ पुस २०७५ ०५:४२ मंगलबार

ए_डिभिजन_लिग मनाङ_मर्स्याङदी च्यासल_युथ_क्लब उपाधि_यात्रा