फिफा विश्वकप फुटबल आज रुसमा सुरु हुँदैछ । रुसको राजधानी मस्कोस्थित लुझनिकी रंगशालामा अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्वकप फुटबलको महाकुम्भको २१ औं संस्करणको औपचारिक सुरुवात हुनेछ। रुसमा पहिलो पटक हुन लागेको यो विश्वकपमा पनि विगतमा झैं विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । तर यहाँ पहिलो विश्वकप बारे चर्चा गरिएको छ । सं
पहिलो विश्वकप धेरै कारण विशेष थियो । विश्वकपका सबै खेल उरुग्वेको राजधानी मोन्टेभिडियोमा भयो । सहभागीमध्ये चार टोली एउटै डुंगामा उरुग्वे पुगेका थिए । विश्वकपका लागि बनाइएको रंगशाला निमार्णाधीन अवस्थामै थियो । फाइनलमा एउटा मात्र हात भएका खेलाडीले गोल गरेका थिए । अर्जेन्टिनालाई ४–२ ले पराजित गरेपछि उरुग्वेमा एक दिन सार्वजनिक बिदा नै दिइएको थियो।
| सहभागी टोली | १३ |
| खेलसंख्या | १८ |
| कुल गोल ७० | औसत ३.९ प्रतिखेल |
| दर्शकको उपस्थिति | ४ लाख ३४ हजार ५ सय (प्रतिखेल २४ हजार १ सय ३८) |
| विजेता | उरुग्वे |
| उपविजेता | अर्जेन्टिना |
| तेस्रो स्थान | अमेरिका |
| चौथो स्थान | युगोस्लाभिया |
| गोल्डेन जुत्ता | गुइलेर्मो स्टाबिल (अर्जेन्टिना) |
मानुइल फेराइराले विश्वविद्यालय परीक्षाका कारण मेक्सिकोविरुद्ध नखेल्ने निर्णय गर्नु अर्जेन्टिनाका लागि फलदायी रह्यो । उनको सट्टा खेलेका गुइलेर्मो स्टाबिलको ह्याट्रिकमा अर्जेन्टिना ६–३ ले विजयी भयो । ‘इल पिल्ट्राडोर’ उपनामका स्टाबिलले प्रतियोगितामा सबैभन्दा बढी ८ गोल गरे । अमेरिकालाई पाराग्वेले ३–० ले हराउँदा बेर्ट पाटेनाउडे ह्याट्रिक गर्ने पहिलो खेलाडी बने।
वरियताका अर्जेन्टिना र अमेरिका आआफ्नै समूह विजेता बन्दै सेमिफाइनल भिडेका थिए । एकपक्षीय खेलमा स्टाबिलको दुई गोलसँगै अर्जेन्टिना ६–१ विजयी हुँदै फाइनल पुग्यो । अमेरिकाले खुट्टा भाँचिएका कारण राफाइल ट्राकीलाई गुमायो । अर्जेन्टिनाको फाइनलमा प्रतिद्वन्द्वी थियो, उरुग्वे । जसले अर्जेन्टिनालाई दुई वर्षअघि ओलम्पिकमा पराजित गरेको थियो।
विजयी गोल फर्वाड हेक्टोर स्कारोनले गरे । चलाखीपूर्ण पास, खेल बुझ्ने क्षमताका कारण उनको मिडफिल्डमा होसे एन्ड्राडेसँग निकै जमेको थियो । होसे नासाजी र इर्नेस्टो मास्केरोनी रक्षापंक्तिमा उत्कृष्ट थिए । पेरु र रोमानियालाई पराजित गरेको उरुग्वेले सेमिफाइनलमा पेड्रो सिआको ह्याट्रिकबाट युगोस्लाभियालाई ६–१ ले पराजित गरेको थियो । युगोस्लाभियाले वरियताप्राप्त ब्राजिललाई पराजित गरेको थियो।
जुलाई ३० मा झन्डै ३० हजार अर्जेन्टिनी दर्शक रिभर प्लेट हुँदै मोन्टेभिडियो गएका थिए । इस्टाडियो सेन्टेनारियोका ढोकाहरू बिहानै खोलिएको थियो र ८० हजार दर्शक रंगशालाभित्र छिरेका थिए । अर्जेन्टिनाले टस जित्दै म्याच बल रोज्यो । खुला टोपी लगाएर खेलेका विपक्षी पाब्लो डोराडोको सुरुआती गोलका बाबजुद पहिलो हाफमा अर्जेन्टिनाले कार्लोस पेउसिली र स्टाबिलको गोलमा २–१ ले अगाडि थियो।
| मिति | आयोजक | विजेता |
| १९३० | उरुग्वे | उरुग्वे |
| १९३४ | इटाली | इटाली |
| १९३८ | फ्रान्स | इटाली |
| १९५० | ब्राजिल | उरुग्वे |
| १९५४ | स्विट्जरल्यान्ड | पश्चिम जर्मनी |
| १९५८ | स्विडेन | ब्राजिल |
| १९६२ | चिली | ब्राजिल |
| १९६६ | इङल्यान्ड | इङल्यान्ड |
| १९७० | मेक्सिको | ब्राजिल |
| १९७४ | पश्चिम जर्मनी | पश्चिम जर्मनी |
| १९७८ | अर्जेन्टिना | अर्जेन्टिना |
| १९८२ | स्पेन | इटाली |
| १९८६ | मेक्सिको | अर्जेन्टिना |
| १९९० | इटाली | पश्चिम जर्मनी |
| १९९४ | अमेरिका | ब्राजिल |
| १९९८ | फ्रान्स | फ्रान्स |
| २००२ | जापान/दक्षिण कोरिया | ब्राजिल |
| २००६ | जर्मनी | इटाली |
| २०१० | दक्षिण अफ्रिका | स्पेन |
| २०१४ | ब्राजिल | जर्मनी |
| २०१८ | रुस | . |
एक समाचारपत्रले भोलिपल्टको अंकमा मध्यान्तरसम्म उरुग्वेली दर्शक ‘मरेकै’ स्थितिमा रहेको समाचार प्रकाशित गरेको थियो । कप्तानले मध्यान्तरमा गरेको टिम वार्ताले उरुग्वेलाई फाइनलमा जिताउन प्रमुख भूमिका खेलेको थियो । सिआ र भिक्टोरिएनो सान्तोस इरिएर्टको गोलमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए । बच्चामा दुर्घटनाबाट एक हात गुमाएका हेक्टोर कास्ट्रोले एक मिनेटअगाडि अन्तिम गोल गरे । उरुग्वेली खेलाडीहरू विजयको हर्षोल्लासमा रुन पुगेका थिए । नासाजी फुटबलको सबैभन्दा ठूलो उपाधि उठाउने पहिलो कप्तान बने।
प्रकाशित: ३१ जेष्ठ २०७५ ०८:३१ बिहीबार