खेल

सन्यासबारे बोले रोनाल्डो, कुन हो अन्तिम विश्वकप?

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आगामी सन् २०२६ को विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन्। क्लब र अन्तर्राष्ट्रिय खेलमा ९५० भन्दा बढी गोल गरेका ४० वर्षे फरवार्ड रोनाल्डोले आगामी दुई वर्षभित्र फुटबलबाट सन्यास लिने बताएका छन्।  

‘यो निश्चित हो,’ उनले भिडियो लिंकमा साउदी फोरमसँग भनेका थिए। उनलाई सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘सन् २०२६ मेरो विश्वकप खेलका लागि अन्तिम स्पर्धा हुनेछ।’  

‘म ४१ वर्षको हुन लागेँ र मलाई लाग्छ यो क्षण अन्तर्राष्ट्रिय खेलबाट विदा लिन उपयुक्त हुनेछ।’ सन् २०२३ मा साउदी अरबको अल नासरमा आकर्षक कार्यकाल सुरु गरेका रोनाल्डोले गत हप्ता आफूले चाँडै नै सन्यास लिने बताएका थिए।  

‘सम्भवतः अझै एक वा दुई वर्ष हो म खेलमा हुनेछु,’ उनले भनेका थिए। 

पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोले आगामी सन् २०२६ को विश्वकप खेलमा छैटौँ पटक प्रतिस्पर्धा गर्ने लक्ष्य राखेका छन्। सन् २००६ मा पोर्चुगल सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो र यो नै उनको नेतृत्वमा पोर्चुगलका लागि उपाधिको लागि सबैभन्दा उत्कर्ष अवस्था थियो।  

पोर्चुगलले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा छनोट हुन सकेको छैन तर बिहीबार आयरल्यान्डलाई पराजित गरेमा पोर्चुगलले आफ्नो स्थान सुरक्षित गर्नेछ।  

रोनाल्डो सन् २०२२ को अन्त्यमा दोस्रो पटक म्यानचेस्टर युनाइटेड छोडेपछि अल नासरमा सामेल भएका थिए। उनको आगमनले तेलको धनी राष्ट्र साउदी अरबमा पछिल्लो समय विश्वका प्रसिद्ध खेलाडी आगमनका लागि तयार बनेका छन्।  

आर्थिक विविधीकरण योजनाअन्तर्गत खेलकुद र मनोरञ्जनमा ठूलो रकम खर्च गरिरहेको साउदी अरबलाई गत डिसेम्बरमा सन् २०३४ को विश्वकप आयोजनाको लागि अवसर दिने फुटबलको सबैभन्दा उच्च अन्तर्राष्ट्रिय समिति फिफाले घोषणा गरेको थियो। एएफपी

प्रकाशित: २६ कार्तिक २०८२ ०८:४० बुधबार