खेल

क्रिकेटर रौनकलाई गृहजिल्ला कपिलवस्तुमा भव्य स्वागत

क्रिकेटर रौनक श्रीवास्तवलाई गृह जिल्ला कपिलवस्तुमा भव्य स्वागत र सम्मान गरिएको छ। मलेसियामा हालै सम्पन्न एसिसि अन्डर–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका श्रीवास्तवलाई गृह जिल्ला कपिलवस्तुमा भव्य स्वागत  गरिएकाे हाे।  उनले एकै इनिंगमा १६८ रन बनाएर रेकर्ड कायम गरी बेस्ट ब्याट्सम्यान र म्यान अफ द टुर्नामेन्ट समेत घोषित भएका थिए।

सोमबार कपिलवस्तु आएका उनलाई मंगलवार जिल्ला क्रिकेट संघको अगुवाइमा बाजागाजा सहित तौलिहवा बजारमा परिक्रममा गराई स्वागत र सम्मान गरिएको थियो। तौलिहवाको जमुहार देखि प्रशासन चोक, गौढी भिक्षु चोक महिता हुँदै होटेल तिलौराकोट सम्म र्‍याली सहित परिक्रममा गराइएको थियो ।

रौनकलाई भव्य कार्यक्रमका बिच प्रदेश सदस्य सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल प्रजिअ दिल कुमार तामाङ,क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरे, उद्योग वाणिज्य संघ तौलिहवा अध्यक्ष गयादीन कुर्मी, ब्याडमिन्ट संघका जिल्ला अध्यष दिनेश हमाल, युवा नेता प्रकाश घिमिरे लगायतले फुलमाला, अबिर खादा ओढाएर सम्मान पत्र सहित स्वागत र सम्मान गरेका थिए ।

सम्मान ग्रहण गर्दै राैनकले आफूलाई यो स्थान बुवा आमा, गुरुहरू, क्रिकेट संघका कारण हासिल गर्न सफल भएको बताए । उनले आफूलाई अहिले धरै राम्रो महसुस भएको बताए । मेयर सुदीप पौडेलले नगद ५१ हजार दिने घोषणा गरेका थिए ।

यस्तै नगरपालिका वडा नम्बर ३ का अध्यक्ष समेत रहेका संघका जिल्ला अध्यक्ष प्रकाश गैरेले २५ हजार मूल्यको क्रिकेट ब्याट तथा संघको तर्फबाट नगद ११ हजार दिने घोषणा गरे । सो अवसरमा प्रदेश सदस्य पाण्डेयले रौनकले उत्कृष्ट प्रदर्शन गरी देश र जिल्ला कै नाम उच्च राख्न सफल भएको भन्दै बधाई दिए ।

उनले खेलका लागि समेत तिनै तहका सरकारले बजेट विनियोजन गर्नु पर्ने बताए । सो अवसरमा मेयर पौडेलले रौनकले उत्कृष्ट प्रदर्शन गरेर नेपालकालागि उदाउँदो तारा बनेको बताए । उनले रौनकको भविष्य उज्ज्वल रहेको र सम्हालेर प्रदर्शन गर्न उनले आग्रह गरे । प्रजिअ तामाङले नेपालको चिनारी सगरमाथा र बुद्ध मात्र नभई अब क्रिकेटले पनि रहेको बताए । उनले रौनकको प्रदर्शनले देश र विदेशमा समेत नाम कमाएको बताए ।

रौनकका गुरु बिवेक त्रिपाठीले रौनकको त्रिक्रेटमा राम्रो भविष्य देखेको बताए । उनले नेपाल समेत अहिले क्रिकेट खेलमा चम्किरहेको भन्दै क्रिकेटरलाई अवसर प्रशिक्षणको आवश्यक रहेको बताए । संघका पूर्व केन्द्रीय सचिव प्रशासन्त बिक्रम मल्लले रौनक क्रिकेटको हिरा भएको भन्दै प्रशंसा गरे । रौनकलाई थप परिक्षणका लागि आफुले पहल गर्ने उनले बताए । 

सो अवसरमा संघकी प्रदेश सदस्य तथा मेनजर माया ज्ञवालीलाई समेत संघको प्रदेश समितिले सम्मानित गरेको थियो 

प्रकाशित: २४ असार २०८२ १७:५९ मंगलबार

#NagarikNews