खेल

बंगलादेशसँग नेपालको दुई मैत्रीपूर्ण खेल

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले घरेलु मैदानमा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार आफ्नो सामाजिक सञ्जालमार्फत दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको जनाएको हो। आगामी सेप्टेम्बर ६ र ९ तारिखमा उक्त खेलहरू हुनेछन्। फिफा विन्डोअन्तर्गत हुने दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ। नेपालले एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटअन्तर्गत भियतनामसँग खेल्दै छ। सोही खेलको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ। यो समूहमा नेपालसँगै मलेसिया, लाओस र भियतनाम छन्। समूहचरणका दुई खेल खेलेको नेपालले दुवै खेल हार बेहोरेको छ।

नेपाल अवे खेलमा मलेसियासँग २–० र लाओससँग २–१ ले पराजित भएको थियो। पहिलोपल्ट लाओससँग पराजित भएपछि नेपाली टोलीको आलोचना पनि भइरहेको छ। नेपाली टोलीले अब अक्टोबर ९ तारिखमा भियतनामसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्ने तालिका छ। यसअगाडि नेपाली टोली राम्रो तयारी गर्ने लक्ष्यमा छ। नेपालको प्रस्तावमा बंगलादेश मैत्रीपूर्ण खेल खेल्न तयार भएको हो। बंगलादेशले पछिल्लो समयमा धेरै विकास गरिरहेको छ। महिला टोलीले एसियन कपमा स्थान बनाएको छ भने पुरुष टोलीले पनि आफ्नो स्तर बढाउन प्रयास गरिरहेको छ। त्यसैले पनि बंगलादेशले एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटका लागि आफूभन्दा बलियो टोलीसँग खेल्ने प्रयास गरेको थियो।

बंगलादेश छनोटको समूह ‘सी’ छ। यो समूहमा सिंगापुर, भारत र हङकङ छन्। समूहको पहिलो खेलमा बंगलादेशले भारतलाई बराबरीमा रोक्दै उत्कृष्ट प्रदर्शन गरेको थियो। दोस्रो खेलमा भने बंगलादेश सिंगापुरसँग पराजित हुन पुग्यो। यी दुवै खेलमा 
इङ्लिस प्रिमियर लिगको पूर्वक्लब लेस्टर सिटीका हेम्जा चौधरीले बंगलादेशबाट खेलेका थिए।

प्रकाशित: २४ असार २०८२ १०:५१ मंगलबार

#NagarikNews #NepaliNews