मलेसियामा सम्पन्न एसिसी यु–१६ इस्ट जोन कप विजेता नेपाली यु–१६ क्रिकेट टोलीका महत्वपूर्ण सदस्य अभय यादव सम्मानित भएका छन्। काठमाडौं क्रिकेट एकेडेमी (केसिए) ले बुढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा सोमबार आयोजित कार्यक्रमबीच युवा क्रिकेटर अभयलाई सम्मान गरेको हो। उनलाई खादा ओढाएर सम्मान गरिएको हो।
एकेडेमीका निर्देशक जगत टमाटा र सञ्चालक मदन कार्कीले अभयको उपलब्धिको कदर गर्दै प्रशंसा गरेका थिए। मधेस प्रदेशको सर्लाहीका अभयले पछिल्लो चार महिनादेखि सोही एकेडेमीमा नियमित प्रशिक्षण पनि गर्दै आएका थिए। मलेसियामा आयोजित इस्ट जोन कपको फाइनलमा उनले उत्कृष्ट प्रदर्शन पनि गरेका थिए। यस क्रममा सिंगापुरविरुद्ध तीन विकेटसँगै नेपालको कमजोर इनिङमा पनि उनको ब्याटिङतर्फ महत्वपूर्ण प्रदर्शन रह्यो। उनी प्लेयर अफ द म्याच पनि भएका थिए।
त्यस्तै ब्याटिङमा पनि उनी १० रनमा अविजित रहे। दायाँहाते तीव्रका बलर अभयले प्रतियोगिताभर ५ खेलबाट १० विकेट लिएका थिए। नेपालको तर्फबाट उनी सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा पनि रहे। गत महिना सुर्खेतमा सम्पन्न टिबी शाह मेमोरियल यु–१६ प्रतियोगितामा पनि उनले सात खेलबाट १९ विकेट लिँदै उत्कृष्ट बलरको उपाधि जितेका थिए। सो अवसरमा एकेडेमीका सञ्चालक कार्कीले अभयलाई आगामी दिनमा क्रिकेट प्रशिक्षणका लागि पूर्ण छात्रवृत्तिको घोषणा गरेका छन्। ‘अभयले देखाएको मेहनत, अनुशासन र लगावले आज यो उपलब्धि सम्भव भएको हो। यस्ता प्रदर्शनबाट अन्य विद्यार्थीहरू पनि प्रेरित हुन् भन्ने हाम्रो अपेक्षा छ,’कार्कीले भने।
एकेडेमीका निर्देशक टमाटाले पनि अभयलाई मेहनती र लगनशील विद्यार्थीको रूपमा प्रशंसा गरे। ‘कुनै पनि विद्यार्थीले निरन्तर मेहनत र समर्पणका साथ अगाडि बढ्यो भने अभयले जस्तै सफलता पाउन सक्छ,’उनले भने। सम्मानित भएपछि अभयले प्रशिक्षकले सिकाएको महत्वपूर्ण पक्ष ध्यान राख्ने गरेको बताए। ‘खेल्दा देशको भावना चाहिन्छ भन्ने कुरा जगत टमाटा गुरुले सधैं सिकाउनुहुन्थ्यो। मैले त्यो याद राखेर खेलें। मेहनत गरे सफलता पक्कै मिल्छ,’उनले भने। नेपाली किशोर टोली आइतबार राती मात्र नेपाल आएका हुन्।
मलेसियाको बाङ्गीमा शनिबार सम्पन्न फाइनलमा सिंगापुरमाथि दुई विकेटको साँघुरो जित निकाल्दै नेपाल यु–१६ इस्ट जोन कपमा चौथोपल्ट च्याम्पियन भएको थियो। उपाधि लिएर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किशोर टोलीका कप्तान विपिनप्रसाद शर्माले लगातार म्याच एक्सपोचर र टिम एकताबद्ध भएर खेल्दा यो उपाधि रक्षा गर्न सफल भएको बताएका थिए। नेपाल चौथोपल्ट यु–१६ इस्ट जोनमा च्याम्पियन भएको हो।
डिफेन्डिङ च्याम्पियन नेपालले सन् २०१७, २०१९ र सन् २०२३ मा यस प्रतियोगिताको उपाधि जितेको थियो। उक्त प्रतियोगितामा रौनक श्रीवास्तव प्लेयर अफ द सिरिज र बेस्ट ब्याटर भएका थिए। कप्तान विपिन बेस्ट बलर पनि भए। उनले सर्वाधिक १७ विकेट लिएका थिए।
प्रकाशित: २४ असार २०८२ ०८:५६ मंगलबार