खेल

साम्बा साम्बा साम्बा...

एएफसी महिला एसियन कप छनोटको समूह ‘एफ’ को अन्तिम खेलमा शनिबार सावित्रा भण्डारी अर्थात् साम्बाले लगातार ३ गोल गर्दै ह्याट्रिक गरिन्। उनको प्रेरणामा ३–१ ले पछि परेको नेपालले शनिबार उत्कृष्ट पुनरागमन गर्दा नेपाली मनमा साम्बा–साम्बा गुन्जन पुग्यो।

खेल बराबरीमा ल्याएर एएफसी महिला एसियन कप छनोटको समूह ‘एफ’ को अन्तिम खेलमा शनिबार उज्बेकिस्तानसँग पेनाल्टी सुट आउटमा ४–२ ले स्तब्ध हुँदा नेपालले २६ वर्षपछि एसियन कप खेल्ने अवसर गुमाएको हो। दुर्भाग्य पनि कस्तो, खेलको कठिन अवस्थामा टिमलाई उकास्ने तिनै साम्बाको सट पेनाल्टी सुट आउटमा खेर जाँदा नेपाली टीमले सुनौलो कीर्तिमान राख्ने अवसर गुमायो।

खेल गुमाए पनि १०० औ बरियातमा रहेको नेपालले ५१ औ स्थानमा रहेको उज्बेकिस्तासँग देखाएको प्रदर्शनले नेपालीको शिर उँचो भएको छ।

यससँगै सावित्राले यस छनोटमा तेस्रोपल्ट ह्याट्रिक गरिन्। उनले यसअघि लाओस र श्रीलंकाविरुद्ध पनि ह्याट्रिक गरेकी थिइन्। नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई ९–० ले हरायो। दोस्रो खेलमा नेपालले दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलङ्काको पोस्टमा आठ गोल गरेको थियो। तीन खेलमा गरेर विपक्षीको पोस्टमा नेपालले कुल २० गोल गर्यो। त्यसमध्ये कप्तान सावित्राको नाममा मात्र १० गोल छ। तर, ४१ वर्षे नेपाली महिला फुटबल इतिहासकी सबैभन्दा सफल फुटबलर सावित्रा एसियन कपमा छनोट गराएर सुन्दर सपना बुन्न भने असफल भइन्।

निर्णायक खेलमा उज्बेकिस्तानसँग स्तब्ध हुँदै नेपाली महिला फुटबल टोली अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कप खेल्ने अवसरबाट वञ्चित भएको छ। तर साम्बा जस्ता खेलाडीको नेतृत्वमा रहेको टिमले नेपालको शिर सधै उँचो राख्ने फुटबल प्रेमिको विश्वास छ। 

प्रकाशित: २२ असार २०८२ ०८:५२ आइतबार

#Sports #NepaliNews #NagarikNews