खेल

साम्बाको ह्याट्रिकले नेपाल र उज्वेकिस्तानको खेल पेनाल्टीमा

एएफसी महिला एसियन कप छनोटको फाइनलसरहको निर्णायक खेलमा नेपालले आयोजक उज्वेकिस्तानसँग निर्धारित ९० मिनेटमा ३-३ गोलको रोमाञ्चक बराबरी खेलेको छ।

अब खेलको नतिजा पेनाल्टी सुटआउटबाट टुङ्गो लाग्नेछ।

३-१ ले पछि परेको अवस्थालाई उल्टाउँदै कप्तान सावित्रा भण्डारीले सनसनीपूर्ण ह्याट्रिक पूरा गरेपछि नेपालले १० खेलाडीमा सीमित उज्वेकिस्तानविरुद्ध अविश्वसनीय पुनरागमन गरेको हो।

खेलको सुरुवाती ११ मिनेटभित्रै दुई गोल खाएर पछि परेको नेपालका लागि २४औं मिनेटमा साम्बाले पहिलो गोल गरेकी थिइन्। तर, ३८औं मिनेटमा उज्वेकिस्तानकी एम. शोयिमोभाले गोल गरेपछि पहिलो हाफमा नेपाल ३-१ ले पछि परेको थियो।

दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि साम्बाले ७१औं र ७३औं मिनेटमा लगातार दुई गोल गर्दै खेललाई ३-३ को बराबरीमा ल्याएकी थिइन्।

उज्वेकिस्तानका लागि डी. खाबिबुल्लायेभा (३ मिनेट), एल. कराचिक (१३ मिनेट) र एम. शोयिमोभा (३८ मिनेट) ले गोल गरेका थिए।

अब एसियन कपमा छनोट हुने टोलीको छिनोफानो पेनाल्टी सुटआउटबाट हुनेछ।

प्रकाशित: २१ असार २०८२ २३:१७ शनिबार