नेपालले एफसी महिला एशियन कप–२०२६ छनोटअन्तर्गत आज निर्णायक खेलमा प्रतियोगिताकै सर्वाधिक बलियो तथा घरेलु टोली उज्वेकिस्तानको सामना गर्दैछ ।
खेल आज साँझ सवा ९ बजे तास्केन्तस्थित मिलि स्टेडियममा हुनेछ । आजको खेलको विजेता समूह ‘एफ’ को विजेता बन्दै अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने एएफसी महिला एसियन कप–२०२६ का लागि छनोट हुनेछ । यो नेपाललाई २६ वर्षको लामो प्रतीक्षा तोड्ने अवसर पनि हो । किनकी नेपाली महिला फुटबल टोलीले सन् १९९९ पछि एसियन कपमा सहभागी हुने अवसर पाएको छैन ।
अर्कोतर्फ, उज्बेकिस्तानले पनि सन् २००३ पछि एएफसी महिला एसियन कपमा स्थान बनाउन सकेका छैनन् । त्यसैकारण दुवै टोलीका लागि यो खेल केवल समूह चरणको अन्तिम खेल मात्र नभएर ठूलो सपनाको प्रवेशद्वार पनि हुनेछ ।
यो खेलको रोमाञ्चक पक्ष भनेको दुवै टोलीको गोल अन्तर र अंक बराबर हुनु हो । दुवै टोलीले समूह चरणमा लाओस र श्रीलंकालाई पराजित गर्दै समान ६–६ अंक जोडेका छन् । नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० गोलले हरायो, भने उज्बेकिस्तानले पनि श्रीलंकालाई १०–० र लाओसलाई ७–० गोलले पराजित गर्यो । दुवै टोलीले १७ गोल गरेर एक गोल पनि खाएका छैनन् ।
यदि आजको खेल बराबरीमा सकियो भने, एएफसी महिला एसियन कपको नियमावलीअनुसार सिधै पेनाल्टी सुटआउटबाट विजेता छानिनेछ । तर यो अवस्था दुर्लभ हुनेछ, किनभने दुवै टोलीको प्रदर्शन हालसम्म समान देखिएको छ । फिफा वरियतामा उज्बेकिस्तान ५१औं स्थानमा छ, भने नेपाल १००औं स्थानमा रहेको छ ।
विगत हेर्ने हो भने नेपालमाथि उज्वेकिस्तान नै हावी भएको देखिन्छ । सन् १९९९ को महिला एसियन कपमा उज्बेकिस्तानले नेपाललाई ६–१ गोलले हराएको थियो । त्यो खेलमा नेपालको तर्फबाट पेमा डोल्मा लामाले गरेको गोल नै नेपाली महिला फुटबलको पहिलो अन्तर्राष्ट्रिय गोल बनेको थियो । यस्तै, सन् २०१९ को नादेज्दा कपमा पनि उज्वेकिस्तानले नेपाललाई लिग चरणमा २–० र फाइनलमा ३–२ गोल गरी दुई खेलमा पराजित गरेको थियो ।
सन् २०१९ को फाइनलमा दुई गोल गर्ने सावित्रा भण्डारी (साम्बा) अहिले राष्ट्रिय महिला टोलीको क्याप्टेन छन् । उनकै नेतृत्वमा नेपालले पहिलोपटक उज्बेकिस्तानलाई हराउने अवसर पाएको छ । जारी प्रतियोगितामा नेपालको कप्तानी सम्हालिरहेकी साम्बाले दुई खेलमा एक ह्याट्रिकसहित ७ गोल गरिसकेकी छिन् ।
प्रकाशित: २१ असार २०८२ ११:०६ शनिबार