खेल

आर्मी र मनाङको विजयी सुरुआत

विभागीय टोली त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबले एन्फा यु–१६ युथ लिग फुटबलमा विजयी सुरुआत गरेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको उद्घाटन खेलमा मनाङले भर्खर शीर्ष डिभिजनमा उक्लिएको श्री भगवतीलाई २–१ ले हराउँदै सुखद सुरूआत गरेको हो। मनाङको जितमा रोहन थापामगर र विवेक मगरले गोल गरे।

श्री भगवतीका लागि सरुन महतो गोल फर्काए पनि हार टार्न सकेनन्। दोस्रो खेलमा आर्मीले हिमालयन शेर्पा क्लबमाथि ३–१ को सहज जित निकाल्यो। आर्मीका लागि सोहित वाइबा, जोएल गुरुङ र सृजन मल्लले समान एक गोल गरे। हिमालयन शेर्पाका विशु सुनुवारले एक गोल गरे। हिमालयन शेर्पाले अग्रता लिए पनि जोगाउन नसक्दा हार बेहोर्‍यो। खेलको दशौं मिनेटमा नै विशुको गोलबाट हिमालयनले अग्रता लिएको थियो।

काउन्टर अट्याकमा विशुले आर्मीका दुई डिफेन्डरलाई छक्याउँदै गोल गरेका हुन्। जेनिल सुब्बाको उत्कष्ट पासलाई उनले पेनाल्टी बक्सभित्र नियन्त्रण लिँदै गोल गरे। हिमालयन शेर्पाका गोलकिपर उत्सव खड्काको गल्तीमा आर्मीले खेलमा फर्कने अवसर पायो।

करिब ३५ यार्ड टाढाबाट आर्मीका सोहित वाइबाले गरेको फ्रिकिकलाई उत्सवले हाटबाट फुत्काएपछि गोलमा परिणत हुन पुग्यो। यो गोलपछि पहिलो हाफमा १–१ को बराबरी भयो। दोस्रो हाफमा पनि गोल हुन लामो समय पर्खनुपर्‍यो।

७९औं मिनेटमा जोएलले खाली पोस्टमा गोल गरे। सोहितको कर्नर प्रहारलाई रोक्ने प्रयासमा हिमालयन शेर्पाका गोलकिपर उत्सवमा गोललाइनभन्दा बाहिर पुगे। त्यही मौकामा जोएलले वान टचमार्पmत बललाई जाली चुमाए।

एक मिनेट नबित्दै हिमालयन शेर्पाले अर्को गोल बेहोर्‍यो। काउन्ट प्रयासमा आर्मीले गोल गरेको हो। यसपल्ट पनि हिमालयनका गोलकिपर उत्सव बिट भएको अवस्थामा सृजनले गोल गर्दै आर्मीलाई ३–१ को जित दिलाए। यससँगै हिमालयले शेर्पाले अग्रता जोगाउन नसक्दा हारबाट युथ लिगको सुरुआत गर्‍यो।

हिमालयन शेर्पाका प्रशिक्षक प्रज्वलप्रताप क्षेत्रीले रेफ्रीको निर्णयप्रति लगातार असन्तुष्टि व्यक्त गरेपछि उनले दोहोरो पहेंलो कार्ड सामना गर्नुपर्‍यो। त्यसअघि पहिलो खेलमा पनि श्री भगवती बराबरीको संघारमा पुगेर गोल सामना गर्न बाध्य भयो। खेलको अन्तिम तीन मिनेट समालिन नसक्दा श्री भगवतीले हार सामना गर्यो। रोहन खेलको प्लेयर अफ दी म्याच घोषित भए।

रोहनले खेलको ४०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। यससँगै पहिलो हाफमा मनाङ १–० ले अगाडि रह्यो। ५८औं मिनेटमा सरुनले गोल फर्काउँदै श्री भगवतलाई बराबरीमा ल्याए। तर, अन्तिम समयमा भने समालिन सकेन। ८७औं मिनेटमा विवेकले गोल गर्दै मनाङलाई २–१ को जित दिलाए। त्यसअघि यस प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङले गरेका थिए।

किशोर फुटबलरको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले एन्फाले एन्फा यु–१६ युथ लिगको सुरुआत गरेको हो। किशोर फुटबलरको प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यअनुरूप सुरु गरिएको युथ लिगमा शीर्ष डिभिजनका कुल १४ क्लबले प्रतिस्पर्धा गर्दै छन्। यु–१६ युथ लिग तेस्रो संस्करण हो।

यसै वर्ष मात्र ‘बी’ डिभिजन लिगबाट शीर्ष डिभिजनमा उक्लिएका दुई क्लब प्लानिङ ब्वाइज र श्री भगवतीले यस युथ लिगमा प्रतिस्पर्धा गरेका छन्। थ्री स्टारमाथि भने कारबाही भएसँगै रेलिगेसन परेपछि यो क्लबले भने युथ लिगमा सहभागिता जनाउन पाएन। उसका सट्टामा सशस्त्र प्रहरी बल एपिएफको टोलीले एन्फा यु–१६ युथ लिगमा प्रतिस्पर्धा गरेको छ। यसबाहेक त्रिभुवन आर्मी क्लब, संकटा, नेपाल पुलिस, फ्रेन्ड्स, चर्च ब्वाइज, मच्छिन्द्र, जावलाखेल युथ, सातदोबाटो युथ, हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी छन्।

लिगको विजेताले एक लाख र उपविजेताले ५० हजार रूपैयाँ नगद पुरस्कार र ट्रफी पाउनेछन्। विधागत उत्कृष्टअन्तर्गत मस्ट भ्यालुएबल प्लेयर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र फेयरप्लेले १५ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्। कुल ९१ वटा खेल हुने यस युथ लिग आगामी साउन २६ गतेसम्म सञ्चालन हुनेछन्।

प्रकाशित: २१ असार २०८२ ०८:१४ शनिबार

# Nagarik # Khelkud