नेपाली करातेमा लगातार ऐतिहासिक सफलता दिलाउँदै आएकी एरिका गुरुङले थाइल्यान्ड ओपन करातेमा स्वर्ण पदक जितेकी छन्।
थाइल्यान्डको बैंककमा भएको ओपन करातेमा एरिकाले सिनियर महिला ६८ केजीमाथि थाइल्यान्डकी चनकन खियोखामलाई पराजित गरिन्। उक्त प्रतिस्पर्धामा नेपालले समान एक स्वर्ण, एक रजत र ९ कांस्य पदक जितेको टोलीका प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए। नेपालका लागि अन्य खेलाडीहरूले पनि राम्रो प्रदर्शन गरेका छन्।
यु–१२ पुरुष ३७ केजीमा सम्पन्न बस्नेतले रजत जिते। सिनियर पुरुष ७५ केजीमा राजीव पुडासैनीले कांस्य पदक जिते। सिनियर महिला कुमुते ६८ केजीमा कृतिका अधिकारीले पनि कांस्य पदक जितिन्। सिनियर महिला कुमुते ५५ केजीमा सबिना श्रेष्ठले तेस्रो स्थान हासिल गरिन्।
सिनियर महिला ५० केजीमा वर्षा बुढामगर तेस्रो भइन्। यु–१४ महिला ५२ केजीमा दिया तामाङ तेस्रो भइन्। पुरुष ४५ केजीमा आशिष हरिजन तेस्रो भए। यु–१४ पुरुष ५० केजीमा प्रजल थापा तेस्रो भएको प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए।
प्रकाशित: १५ असार २०८२ ०८:२६ आइतबार