खेल

सन्तोषी र राजनलाई उपाधि

सन्तोषी श्रेष्ठ र राजन रोकायाले पाँचौं वीर गणेशमान सिंह १० किलोमिटर दौड (टेन के) को उपाधि जितेका छन्।

वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा शनिबार सम्पन्न दौडमा सन्तोषी महिला र राजन पुरुषमा च्याम्पियन भएका हुन्। विजेता राजनले ३१ मिनेट २२. ३ सेकेन्ड समयमा दौड सकाए।

सन्तोषीले ३८ मिनेट ३.६ सेकेन्डमा दौड पूरा गरिन्। पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका खेलाडीको वर्चस्व रह्यो। आर्मीका खेलाडीले शीर्ष तीन स्थान हात पारे। खड्गबहादुर खड्का दोस्रो भए। उनले ३१ मिनेट ३५.८ सेकेन्डमा दौड पूरा गरे। ३२ मिनेट १२.८ सेकेन्ड समयमा मुकेशबहादुर पाल तेस्रो भए।

महिलामा नेपाली एथलेटिक्सकी गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ सफल भएकी हुन्। आर्मीकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो र एपिएफकी आशा रावत तेस्रो भए। पूर्णलक्ष्मीले ३९ मिनेट १९.९ सेकेन्डमा र आशाले ४० मिनेट २७ सेकेन्डमा निर्धारित दूरी तय गरे। पुरुषमा बागलुङका तीर्थ पुन चौथो र केन्याका जुलियस मुरिउकी पाँचौं भए। एपिएफकै फूलमती रानाले ४० मिनेट २७.०१ सेकेन्डमा दौड पूरा गरी चौथो स्थान प्राप्त गरिन्। महिला तथा पुरुषका विजेताले समान ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार‌ रूपैयाँ पुरस्कार प्राप्त गरेका छन्। चौथोले १० हजार र पाँचौंले पाँच हजार रूपैयाँ पुरस्कार प्राप्त गरे।

दौड दरबारमार्गको एडिडास सो रुमबाट सुरु भएर भद्रकाली, रत्नपार्क, जमल, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्साल, जय नेपाल हल हुँदै पुनः दरबारमार्ग पुगेर टुङ्गिएको थियो। गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोटर्स कमिटीको आयोजनामा सम्पन्न दौडमा करिब पाँच सय खेलाडीको सहभागिता थियो।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताको उद्घाटन तथा पुरस्कार वितरण उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका थिए। यसपल्ट दौडको कोर्स रेकर्ड भने भंग हुन सकेन। महिलामा राजपुरा पछाईको नाममा ३६ मिनेट ४३.२ सेकेन्ड र पुरुषमा गोपीचन्द्र पार्कीको ३१ मिनेट ११.४ सेकेन्ड समयको रेकर्ड कायमै छ।

प्रकाशित: १५ असार २०८२ ०७:५१ आइतबार

# Nagarik # Khelkud