किङ्स कलेजले हाइसेन्स नेपाल प्रथम सायम अन्तर कलेज सेभेन ‘ए’ साइड फुटसल प्रतियोगिताको उपाधि उचालेको छ।
भक्तपुरको रोयल नेपाल फुटसलमा शुक्रबार सम्पन्न फाइनलमा किङ्स कलेजले टेकस्पाइर कलेजमाथि २–१ को जित निकाल्दै उपाधि उचालेको हो। त्यसअघि सेमिफाइनलमा टेकस्पाइरले ग्लोबल कलेजलाई पेनाल्टी सुटआउटमा ४–३ र किङ्सले एनसिएमटी कलेजलाई ३–० ले हराउँदै उपाधि भिडन्त तय गरेका हुन्।
ग्लोबल कलेज तेस्रो भयो। तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा ग्लोबल एनसिएमटी १–० लाई हराउन सफल भयो। विजेता किङ्स कलेजले ९० हजार, दोस्रो भएको टेकस्पाइरले ४० हजार र तेस्रो स्थानको ग्लोबलले २० हजार रूपैयाँ नगद पुरस्कार पाए। विजेतालाई सायमका प्रिन्सिपल अशोकराज पाण्डेलगायतले पुरस्कृत गरे। प्रतियोगिताको उत्कृष्ट खेलाडी सबिन पराजुली घोषित भए।
विधागत उत्कृष्टअन्तर्गत डिफेन्डरमा सनम महर्जन, प्रशिक्षकमा किङ्सका अरोन गुरुङ, म्यानेजरमा टेकस्पाइरका हृषभ, सर्वाधिक गोलकर्ता सूवर्ण आचार्यले सफलता पाए। लिटल एञ्जल्स कलेजले फेयर प्लेको पुरस्कार पायो। उत्कृष्ट खेलाडीले पाँच हजार, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान ३/३ हजार नगद पुरस्कारसहित गिफ्ट भौचर प्राप्त गरे।
उत्कृष्ट प्रशिक्षकले ट्रफीसहित गिफ्ट भौचर पाएको आयोजकले जनाएको छ। यस प्रतियोगितामा कुल २८ छात्र टोलीले प्रतिस्पर्धा गरेका थिए। सहभागी टोलीलाई आठ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइएको थियो। हाइसेन्स मुख्य प्रायोजक रहेको प्रतियोगितामा स्नातक तह सेमेस्टर प्रणालीका कलेजका टिम सहभागी भएको थिए।
प्रकाशित: १४ असार २०८२ ०७:३५ शनिबार