एसबिआई क्यापिटल र एनएमबी क्यापिटलले एमबिएएन स्पोर्ट्स मिटको तेस्रो संस्करणमा फुटसलतर्फको उपाधि उचालेका छन्।
मर्चेन्ट बैंकर्सहरूको छाता संगठन नेपाल मर्चेन्ट बैंकर्स संघको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा एसबिआई पुरुषमा र एनएमबी महिलामा च्याम्पियन भएका हुन्। हाडीगाउँस्थित धनयन्तरी फुटसलमा सम्पन्न फाइनलमा एसबिआईले प्रभु क्यापिटललाई हरायो।
च्याम्पियन एसबिआईले ८० हजार र उपविजेता प्रभुले नगद ४० हजार रूपैयाँ प्राप्त गरे। एसबिआईका पूजन खड्का सर्वाधिक (१३ गोल) गोलकर्ता भए। प्रभुका हिक्मत कुँवर उत्कृष्ट खेलाडी र एसबिआईका आलोक शिवाकोटी उत्कृष्ट गोलकिपर घोषित भए। तीनै जनाले जनही १० हजार रूपौयाँ पाए। एनएमबीले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पेनाल्टी सुटआउटमा निराश बनाएको हो।
विजेता एनएमबीले ५० हजार र उपविजेता सेबोनले २५ हजार रूपैयाँ पाए। सेबोनकी निशा थापाले सर्वाधिक ९ गोल गरिन्। एनएमबीकी मोनिसा बस्नेत उत्कृष्ट खेलाडी र एनएमबीकै निशा देवकोटा उत्कृष्ट गोलकिपर चुनिए।
यी तीनैले जनही १० हजार रूपैयाँ प्राप्त गरे। यस अघि शुक्रबारबाट सुरु भएको प्रतियोगितामा फुटसलसहित ब्याडमिन्टन र टेबल टेनिसका खेल समावेश थिए। टेबल टेनिसको पुरुषतर्फ ग्लोबल आइएमई क्यापिटलका प्रदीपराज खनाल र महिलामा सिद्धार्थ क्यापिटलका कल्पना प्रधान च्याम्पियन बने। भेट्रान्समा एनआइएमबीका पराग विष्टले उपाधि उचाले।
ब्याडमिन्टनको पुरुष डबल्समा सिआइटीका पुरुषोत्तम र अनिल बस्नेत तथा महिलामा प्रभु क्यापिटलकी सिर्जना र पूजा पहिलो भए। विजेतालाई नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझीले पुरस्कृत गरेका थिए। प्रतियोगितामा संघमा आबद्ध २६ मध्ये २२ वटा बैंकले प्रतिस्पर्धा गरेका थिए।
प्रकाशित: ८ असार २०८२ ०७:४२ आइतबार