खेल

रामेको टोलीलाई प्रो-एमको उपाधि

प्रोफेसनल गल्फर रामे मगरको टोलीले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपअन्तर्गत प्रो–एमको उपाधि शनिबार उचालेको छ।

प्रिमियर गल्फ च्याम्पियनसिप सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगिता हो। जुन प्रतियोगितामा प्रो. गल्फर रामेको टोली सर्वाधिक एक सय ५९ अंक बटुल्दै शनिबार च्याम्पियन बन्यो। पार–७२ गोकर्ण गल्फ कोर्समा रामेले ४१ अंक बटुले। एमेच्योर गल्फरहरू विष्णुबहादुर कार्की र नोर्बु छिरिङ शेर्पाले ४० अंक बनाए।

सायान बस्नेतले ३८ अंक जोडेका थिए। विजयी एमेच्योर गल्फरहरूले क्यालवे इलाइट ड्राइभर प्राप्त गरे। प्रो. गल्फर दिनेश प्रजापतिको टोली १५१ अंकसहित दोस्रो भयो। दिनेशले ४० अंक जोडे। एमेच्योर गल्फरहरू अश्मांक कार्की, वाङ्चेन ढोन्डुप र आश्रय बस्न्यातले समान ३७ अंक बनाए। प्रो.तोरणविक्रम शाहीको टोली तेस्रो भयो।

यो टोलीले १४४ अंक बटुल्यो। तोरणविक्रमले ३८ अंकको योगदान दिए। एमेच्योर गल्फर आशिषमान शेरचनले ३६ तथा तरूण अग्रवाल र लिलाजंग गुरूङले समान ३५ अंक बनाए। महिलातर्फ तारा कार्की चित्रकारले उपाधि उचालिन्। उनले ३२ अंक बनाइन्।

प्रतियोगिताको लङ्गेस्ट ड्राइभको उपाधि संयोग शाहीले र क्लोजेस्ट टु दी पिनको उपाधि स्वदेश गुरूङले जिते‌। प्रो–एमका विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रविकुमार रायवरम, सूर्य नेपालका उपाध्यक्ष (कर्पोरेट अफेयर्स) रवि केसी, नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमेरे र क्लब क्याप्टेन जोसेफ नाथनले पुरस्कृत गरेका थिए।

प्रो–एममा २८ प्रोफेसनल र एक सय १२ एमेच्योर गरी कुल एक सय ४० गल्फरले प्रतिस्पर्धा गरेका थिए। सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियरको उपाधि एमेच्योर राहुल विश्वकर्माले जितेका थिए। उनले समग्रमा २१ अन्डर २६७ को स्कोरमा भुवन नगरकोटीलाई दुई स्ट्रोकले हराउँदै करियरकै दोस्रो उपाधि जितेका हुन्।

समग्रमा १९ अन्डर २ सय ६९ को स्कोरमा भुवन नगरकोटी प्रो. तर्फ पहिलो भएका थिए। उनले नगद तीन लाख प्राप्त गरे। एमेच्योर युवा गल्फर सद्भाव आचार्य समग्रमा १८ अन्डर २ सय ७० को स्कोरमा तेस्रो भएका थिए। सिजनको अन्तिम प्रतियोगितामा ३७ प्रो. र १८ एमेच्योर गरी कुल ५५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

सिजनको अन्त्यसँगै धरानका प्रो. नीरज तामाङ सूर्य नेपाल गल्फ टुर २०२४/२५ को अर्डर अफ मेरिटको शीर्ष स्थानमा रहँदै नम्बर एक प्रोफेसनल गल्फर बन्न सफल भएका छन्। टुरको  २०२४/२५ सिजनको आठ प्रतियोगितामा आठ लाख ६७ हजार पाँच सय नगद पुरस्कार जित्दै उनी नम्बर एक गल्फर बनेका हुन्।

यो सिजनका आठमध्ये सर्वाधिक तीन उपाधि नीरजले, दुई उपाधि एमेच्योर राहुलले र समान एक उपाधि एमेच्योर गल्फर सद्भाव तथा तोरणविक्रम र शुक्रबहादुरले जिते। यो सिजन कुल ६७ लाख १० हजार नगद पुरस्कारको लागि‌ प्रो. गल्फरहरूले प्रतिस्पर्धा गर्दा ३८ खेलाडीले नगद पुरस्कार प्राप्त गरे।

प्रकाशित: ८ असार २०८२ ०७:२७ आइतबार

# Nagarik # Surya Nepal Premier Golf Championship