खेल

स्कटल्यान्डविरुद्ध टस हारेर पहिला बलिङ गर्दे नेपाल

स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधिका लागि नेपालले घरेलु टोलीविरुद्धको निर्णायक खेलमा टस हारेर पहिले बलिङ गर्ने भएको छ।

ग्लासगोमा भएको खेलमा स्कटल्याण्डका कप्तान रिची बेरिंगटनले टस जितेर ब्याटिङ रोजेपछि नेपाल उपाधि जित्नका लागि पहिले बलिङको चुनौती सामना गर्दैछ।

तीन खेलमा दुई जितसहित चार अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको नेपालले यो खेल जितेमा ६ अंकसहित च्याम्पियन बन्नेछ। पराजित भएमा उपाधि गुमाउनेछ।

स्कटल्याण्डको खेलमा एक जित र दुई हारसहित दुई अंक मात्र भए पनि उसको नेट रनरेट नेपालको भन्दा राम्रो छ। यदि आजको खेलमा स्कटल्याण्ड विजयी भएमा दुवै टोलीको ४-४ अंक हुनेछ।

यस्तो अवस्थामा राम्रो रनरेटका आधारमा स्कटल्याण्डले उपाधि जित्नेछ। त्यसैले नेपाललाई च्याम्पियन बन्न आजको खेल जित्नैपर्ने दबाब छ।

नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। तीव्र गतिकार करण केसीलाई आराम दिँदै उनको स्थानमा रिजन ढकाललाई मौका दिइएको छ।

नेपालको प्लेइङ-११:

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), लोकेश बम, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, रिजन ढकाल, रुपेश सिंह, सन्दीप लामिछाने र ललितनारायण राजवंशी।

प्रकाशित: ६ असार २०८२ १९:३६ शुक्रबार

#nepalicricket