१५औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको एथलेटिक्समा बिहीबार चार कीर्तिमानसहित कुल ६ वटा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन्।
तीनदिने खेलकुदमा एथलेटिक्सतर्फ कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ। त्यसमा बिहीबार २७ वर्ष पुरानो कीर्तिमान सुधारसहित चार नयाँ कीर्तिमान बने। दुई दिनभित्र १८ स्वर्ण पदकको टुङ्गो लाग्दा ६ वटा नयाँ जुनियर (१८ वर्षभन्दा मुनि) राष्ट्रिय कीर्तिमान बनेका हुन्।
अब अन्तिम दिन तथा शुक्रबार आठ स्वर्णको टुङ्गो लाग्नेछ। बिहीबार छात्र ज्याभ्लिन थ्रो, छात्रा आठ सय मिटर दौड र छात्रछात्राको चार गुणा चार सय मिटर रिलेमा कीर्तिमान बने। यी चार खेलाडीले कीर्तिमानबापत १० हजार र स्वर्ण पदकको पाँच हजार गरी कुल १५ हजार रूपैयाँ पाउनेछन्।
यसअघि बुधबार बागमतीका प्रवीण रानामगरले छात्र सय मिटर दौड र सुदूरपश्चिम प्रदेशकी संगीता विकले छात्रा चार सय मिटर दौडमा कीर्तिमान बनाएका थिए। दोस्रो दिन छात्र ज्याभ्लिन थ्रोमा झन्डै तीन दशकअघिको कीर्तिमानमा सुधार भएको हो।
लुम्बिनीका राहुल थारुले ज्याभ्लिन थ्रोमा २७ वर्षअघिको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान रचेका हुन्। राहुलले ५७.४० मिटर पर थ्रो गरे। यससँगै उनले २०५५ सालमा धीरेन्द्रजंग शाहको नाममा रहेको ५५.५० मिटरको कीर्तिमानलाई पछि पारेका हुन्। यसमा कर्णालीका सुशान्त नेपालीले रजत र सुदूरपश्चिमका लोकेश एडीले कांस्य पदक जिते।
छात्रा आठ सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारीले नयाँ कीर्तिमान बनाइन्। उनले दुई मिनेट १७.९ सेकेन्डको नयाँ समय निकालिन्। यस विधामा २०८१ सालमा सरिता खड्काको दुई मिनेट २८.५ सेकेन्डको उत्कृष्ट समय थियो। यस विधामा बागमतीकी भगवती खड्काले रजत र सुदूरपश्चिमकी संगीता विकले कांस्य पदक जिते पहिलो दिन कीर्तिमान बनाएकी संगीताले यस विधामा भने उत्कृष्ट नतिजा ल्याउन सकिनन्। छात्र चार गुणा चार सय मिटर रिलेमा बागमतीले नयाँ कीर्तिमान बनायो। प्रवीण रानामगर, नीरज थारु, हस्त सुनार र सन्तबहादुर दराई रहेको टोलीले कीर्तिमानी स्वर्ण जितेको हो।
यससँगै प्रवीणको नाममा भने दुई कीर्तिमान रह्यो। यसअघि पहिलो दिन पनि उनले व्यक्तिगत स्पर्धातर्फ कीर्तिमान बनेका थिए। रिलेमा भने उनी सम्मिलित उक्त टोलीले तीन मिनेट ३०.९ सेकेन्डमा नयाँ समय निकाल्यो। यसअघि २०८० सालमा चन्द्र बोहरा, अमित, कविर विक र सुकवीरको टोलीको नाममा तीन मिनेट ३१.० सेकेन्डको उत्कृष्ट समय थियो।
गण्डकीले रजत तथा लुम्बिनीले कांस्य पदक जिते। यसै स्पर्धाको छात्रामा बागमतीले कीर्तिमान रच्यो। दिना गोपाली, अनिशा थारू, भगवती खड्का र अस्मिता भुजेल सम्मिलित टोलीले चार मिनेट १२.८ सेकेन्ड समयको उत्कृष्ट प्रदर्शन गर्यो।
यसअघि २०८१ सालमा चार मिनेट १७.२ सेकेन्डको कीर्तिमान थियो। जुन कीर्तिमान भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राणाले बनाएका हुन्। सुदूरपश्चिमले रजत र गण्डकीले कांस्य पदक जिते। छात्रा ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमकी पूजा साउदले स्वर्ण जितिन्। पूजाले ३०.३२ मिटर थ्रो गरिन्।
कोसीकी उर्मिला राईले रजत र बागमतीकी सिर्जना श्रेष्ठले कांस्य पदक जिते। छात्र आठ सय मिटर दौडमा सुदूरपश्चिमका विक्रम विष्टले स्वर्ण पदकमा नाम लेखाए। उनले दुई मिनेट ०२.७ सेकेन्डमा निर्धारित दूरी पार गरे। कर्णालीका धीरेन्द्र विकले रजत र लुम्बिनीका आयुश थारूले कांस्य पदक जिते।
लङजम्पमा गण्डकीका प्रदीप महतोले स्वर्ण प्राप्त गरे। उनी ६.६९ मिटर पर जम्प गर्न सफल रहे। सुदूरपश्चिमका विवेक चौधरीले रजत र बागमतीका दीपेन्द्र गिरीले कांस्य पदक पाए। यसै स्पर्धाको छात्रामा बागमतीकी अनिशा थारूले स्वर्ण जितिन्। अनिशाले ५.१८ मिटर जम्प गरिन्। सुदूरपश्चिमकी पवित्रा चौधरीले रजत र सुदूरपश्चिमकै रेनुका ऐरले कांस्य पदक जिते।
उसुमा बागमतीलाई चार स्वर्ण
१५औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत उसुमा बागमतीले चार स्वर्ण जितेको छ।
त्रिपरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा बिहीबारदेखि सुरु उसु प्रतियोगितामा पहिलो दिन चारै स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। उसुमा कुल १२ स्पर्धा समावेश छन्। छात्र नान छ्वानमा बागमतीका विजय वाइबा पहिलो भए। उनले ७.१७ अंक जोडे। सुदूरपश्चिमका योगेश चौधरी दोस्रो तथा कर्णालीका तुफान कुँवर तेस्रो भए। सो स्पर्धाको छात्रामा बागमतीकी बबिता ठाडामगर पहिलो भइन्। बबिताले ६ स्कोर गरिन्। सुदूरपश्चिमकी ज्ञानु विक दोस्रो र कर्णालीकी सन्ध्या राणा क्षत्री तेस्रो स्थानमा रहे।
छात्र छाङ छ्वानमा बागमतीका लभ्सन आले मगर सर्वाधिक ७ अंक जोड्दै पहिलो बने। कर्णालीका भूपेन्द्र बुढा दोस्रो तथा सुदूरपश्चिमका मिलन ओखेडा तेस्रो भए। उक्त स्पर्धाको छात्रामा बागमतीकी मारिया राईले स्वर्ण जितिन्। मारियाले ६.८८ अंक जोडिन्। सुदूरपश्चिमकी दीपिका चौधरीले रजत तथा कोसीकी रेसिका काम्वाङले कांस्य हात पारे।
कबड्डीमा छात्रातर्फ सेमिफाइनल समीकरण
१५औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत कबड्डीमा छात्रातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा बिहीबार दोस्रो दिनको खेल सकिँदा सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको हो। समूह ‘ए’ बाट बागमती ६ अंकसहित विजेता र सुदूरपश्चिम प्रदेश चार अंक जोड्दै उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका छन्।
समूह ‘बी’ बाट भने लुम्बिनी र कर्णालीले सेमिफाइनलमा स्थान बनाए। लुम्बिनीले चार अंक र कर्णालीले दुई अंक बटुल्दै शीर्ष दुई स्थानमा रहे। शुक्रबार नै सेमिफाइनल र फाइनलका लागि प्रतिस्पर्धा हुनेछन्। छात्रमा भने लिगचरणका खेल पूरा भएका छैनन्।
तेक्वान्दोमा बागमतीलाई पाँच स्वर्ण
बागमती प्रदेशले राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत तेक्वान्दोको पहिलो दिन बिहीबार १० स्वर्णको टुंगो लाग्दा ५ स्वर्ण जितेको छ।
सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा भएको प्रतियोगितामा सुदूरपश्चिमले तीन तथा कर्णाली र मधेसले समान एक स्वर्ण जितेका हुन्। तेक्वान्दोमा कुल १२ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ।
अब दुई स्पर्धाको फाइनल शुक्रबार हुनेछ। छात्र ५२ केजीमुनि सुदूरपश्चिमका विशालाराज भट्ट पहिलो भए। उनले फाइनलमा मधेसका आसिफ हुसेन अन्सारीलाई पराजित गरे। ४८ केजीमुनि फाइनलमा कर्णालीका निशान्त प्याकुरेलले गण्डकीका तजिन बुढाथोकीलाई हराउँदै स्वर्ण जिते। छात्र ५१ केजीमुनि बागमतीका करण धोलीले गण्डकीका अजय जिसी र ४५ केजीमुनि बागमतीका कृष्ण विकले मधेसका समर नेपालीलाई फाइनलमा हराउँदै शीर्ष स्थानमा रहे।
छात्रा ४६ केजीमुनि बागमतीकी सोनिया तामाङले कर्णालीकी करुणा बुढा, ४४ केजीमुनि सुदूरपश्चिमकी दीपा जैसीले कोसीकी सोनिम भट्टराई, ४९ केजीमुनि सुदूरपश्चिमकी सुस्मिता विष्टले लुम्बिनीकी दीपिका कार्की र ४२ केजीमुनि मधेसकी सलिना यादवले कोसीकी कल्पना पाण्डेलाई फाइनलमा पन्छाउँदै पहिलो बने। एकल पुम्सेको पुरुषमा बागमतीका विवास तामाङ तथा महिलामा बागमतीकै सरगम थापाले स्वर्ण चुमे। विवासले गण्डकीका सचिन विश्वकर्मा तथा सरगमले गण्डकीकी प्रतिक्षा रानालाई पछि पारे।
करातेमा प्रथम र मनीषालाई स्वर्ण
राष्ट्रपति रनिङ सिल्ड खेलकुदअन्तर्गत करातेतर्फ एकल काताको छात्रमा बागमतीका प्रथम मानन्धर र छात्रामा लुम्बिनीकी मनीषा खड्काले स्वर्ण जितेका छन्।
सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगिताको छात्रमा कर्णालीका ज्ञानेन्द्र सुनारले रजत र गण्डकीका वसन्त परियार र लुम्बिनीका सचित कर्माचार्यले कांस्य पदक जिते। छात्रा एकल कातामा मनीषाले स्वर्ण जितेकी हुन्। उनी काठमाडौंको इचङ्गु कराते डोजोको खेलाडीसमेत हुन्। त्यहाँ उनले डोजो प्रमुख तथा प्रशिक्षक सन्तोष चाम्लिङ राईबाट प्रशिक्षण गर्ने गर्छिन्।
यस विधामा बागमतीकी आर्या श्रेष्ठले रजत तथा गण्डकीकी मनीषा गुरुङ र सुदूरपश्चिमकी रितिका लुहारले कांस्य जिते। पुरुष ४७ केजीमुनि मधेशका प्रिन्स शाह पहिलो भए। उनले फाइनलमा सुदूरपश्चिमका छत्र थापालाई पराजित गरे। बागमतीका मिलन मगर तथा कर्णालीका नरेन्द्र अधिकारीले कांस्य प्राप्त गरे।
प्रकाशित: ३० जेष्ठ २०८२ ०७:४९ शुक्रबार