खेल

१५ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड सुरु

१५औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बुधबार एक भव्य समारोहबीच औपचारिक रूपमा सुरु भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार विभिन्न कार्यक्रमसहित तीन दिनसम्म चल्ने राष्ट्रपति रनिङ सिल्डको उद्घाटन भएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले जुडोकी ओलम्पियन देवु थापालाई ओलम्पिक टर्च हस्तान्तरण गर्दै औपचारिक रूपमा राष्ट्रपति रनिङ सिल्डको १५औं संस्करणको उद्घाटन गरेका थिए।

त्यसपछि ओलम्पियन देवु, भारोत्तोलनका ओलम्पियन कमलबहादुर अधिकारी र सरस्वती चौधरीलगायत ओलम्पियनले ओलम्पिक टर्च र्‍याली गरेका थिए।

१८ वर्षभन्दा कम उमेरका विद्यार्थीको खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले २०६३ सालदेखि राष्ट्रपति रनिङ सिल्डको सुरुवात भएको हो। त्यस अघि वीरेन्द्र रनिङ शिल्डको नामबाट यो प्रतियोगिता हुने गर्दथ्यो।

गणतन्त्र स्थापना पछि राष्ट्रपति रनिङ सिल्डको नामबाट सुरुवात भएको हो। १५औं संस्करणको उद्घाटनका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदको माध्यमबाट एक असल नागरिक बनाउन मद्दत गर्ने बताए।

खेलाडी उत्पादनको राम्रो माध्यम नै विद्यालय तहबाट खेलाडी छनोट रहेकाले यो प्रतियोगिता धेरै महत्त्वपूर्ण रहेको राष्ट्रपति पौडेलको भनाइ छ। पौडेलले साहसिक खेलकुदका लागि नेपाल उत्कृष्ट गन्तव्य रहेकाले राज्यले यसमा लगानी बढाउनुपर्ने धारणा राखे।

उद्घाटनका अवसरमा सातै प्रदेशका खेलाडी र प्रशिक्षकका साथै निर्णायक, विभिन्न वेशभूषा, कला र संस्कृति झल्कने किसिमका पहिरनसँगै मार्च मास्ट, आतिसबाजी, डेमोन्सट्रेसन र सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो।

सो अवसरमा सुदूरपश्चिम प्रदेशकी कबड्डी खेलाडी सृष्टि केसीले सम्पूर्ण खेलाडीको तर्फबाट र करातेका रेफ्री प्रकाशमोहन धौभडेलले रेफ्रीको तर्फबाट शपथ लिएका थिए।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रपति खेलकुद विद्यालय तहबाट नै खेलाडीलाई प्रोत्साहित गर्ने महत्त्वपूर्ण माध्यम रहेको बताए। उनले आगामी दिनमा यो खेलकुद प्रतियोगितालाई अझ परिस्कृत रूपमा विकास गरेर आयोजना गरिने विश्वास व्यक्त गरे।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गणतन्त्र नेपालको स्थापनापछि ७५३ वटै स्थानीय तहबाट खेलाडी छनोट गरेर प्रतिभावान् खेलाडी उत्पादनको माध्यम बनाउन राष्ट्रपति रनिङ सिल्डको सुरुवात भएको बताए।

७५३ स्थानीय निकायबाट खेलाडी छनोट गरेर जिल्ला र प्रदेश हुँदै केन्द्रीय स्तरको प्रतियोगिता गरिँदै आएको छ। तर, यसपल्ट सरकारले यो प्रतियोगिताको बजेटमा कटौतीका साथै स्थानीय तह, जिल्ला र प्रदेश छनोटका लागि बजेट नछुट्याएकाले सबै स्थानीय तहबाट खेलाडी छनोट हुने अवस्था आएन।

बजेट अभाव कारण कोसी प्रदेशका तीन जिल्लामा छनोट नै हुन सकेन। यस प्रतियोगिताको एक करोड ७५ लाख बजेटमा सरकारले २५ प्रतिशत कटौती गरेको थियो। यो बजेटमा स्थानीय तह, जिल्ला र प्रदेशको छनोट लागि रकम छुट्याइएको थिएन। जसका कारण नेपाली खेलकुद विकास र राष्ट्रिय टोली निर्माणका लागि मेरुदण्ड मानिएको राष्ट्रपति रनिङ सिल्डको छनोट तल्लो तहबाट नै प्रभावकारी हुन सकेन।

सात प्रदेशबाट कुल ६ खेल विधामा खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। यस पल्ट १५औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा ६८६ खेलाडीले कुल ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य गरी २३० पदकका लागि प्रतिस्पर्धा हुँदै छ।

यसमा सात प्रदेशबाट गरी विभिन्न खेलका कुल ११९ प्रशिक्षक सहभागी छन्।

प्रकाशित: २८ जेष्ठ २०८२ २१:५८ बुधबार