खेल

क्रिकेटर रिंकु सिंह र सांसद प्रिया सरोजको भव्य इन्गेजमेन्ट

भारतीय क्रिकेटर रिंकु सिंहले समाजवादी पार्टीकी सांसद प्रिया सरोजसँग इन्गेजमेन्ट गरेका छन्। 

भारतीय क्रिकेट टोलीका लागि २ एकदिवसीय र ३३ टी–२० खेल खेलेका चर्चित आईपीएल खेलाडी रिंकुले यो इन्गेजमेन्ट गरेका हुन्। इन्गेजमेन्ट समारोहमा परिवार, आफन्त र नजिकका साथीहरूको उपस्थिति रहेको थियो। 

आईपीएल २०२३ मा अप्रिल ९ मा गुजरात टाइटन्सविरुद्ध एक ओभरमा लगातार पाँच छक्का प्रहार गरेर रिंकुले क्रिकेट जगतमा विशेष पहिचान बनाएका थिए। प्रियाले कोलकाताबाट रिंकुका लागि डिजाइनर औंठी किनेकी थिइन् भने रिंकुले मुम्बईबाट प्रियाका लागि विशेष औंठी मगाएका थिए।

रिंकु अलिगढको निम्न–मध्यमवर्गीय परिवारबाट आएर क्रिकेटमा चर्चित बनेका छन्। दुवैको भेट सन् २०२३ मा भएको थियो। इन्गेजमेन्ट समारोहमा प्रियाका बुबाले करिब तीन सय पाहुनालाई आमन्त्रण गरेका थिए। 

प्रिया सरोज सन् १९९८ मा वाराणसीमा जन्मिएकी हुन्। उनले सन् २०२४ को लोकसभा चुनावमा उत्तर प्रदेशको जौनपुरस्थित मछलीशहरबाट सांसद पद जितेकी थिइन्। 

उनी उत्तर प्रदेशकै सबैभन्दा कम उमेरकी सांसद हुन्। साथै, उनी पेशाले भारतको सर्वोच्च अदालतमा वकिल पनि हुन्। रिंकुले एकदिवसीय क्रिकेटमा २७ को औसतमा ५५ रन र टी–२० मा ४२ को औसतमा ५४६ रन बनाएका छन्।

प्रकाशित: २५ जेष्ठ २०८२ २०:४७ आइतबार

#rinkusingh #priyasaroj #NagarikNews