खेल

ऐतिहासिक पदक विजेता एरिका सम्मानित

तार्केश्वर नगरपालिकाले कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी एरिका गुरुङलाई बुधबार नगदसहित सम्मान गरेको छ।

तार्केश्वर नगरपालिका नगर प्रमुख कृष्णहरि महर्जन, नगर उप–प्रमुख सृजना बुर्लाकोटी अर्याल र प्रशासकीय प्रमुख इश्वरीप्रसाद आचार्यले एरिकालाई प्रशंसा पत्र र नगदसहित सम्मान गरेका हुन् । कार्यक्रममा वडा न २ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण खड्गी, नगर खेलकुद विकास समितिका अध्यक्ष बिक्रम खड्गीलगायतको उपस्थिति रहेको थियो ।

मोरक्कोको रावतमा भएको प्रतियोगिताको महिला ६८ केजीमाथि तौल समूहमा एरिकाले कांस्य पदक भिडन्तमा फ्रान्सकी खेलाडीलाई हराउँदै ऐतिहासिक कांस्य जितेकी हुन् । एरिकाले फ्रेन्च खेलाडी क्लेमेन्स पिएलाई ६–२ ले पराजित गरेकी थिइन् ।

एरिकाले सेमिफाइनलमा स्पेनकी मारिया टोरेस गार्सियासँग ५–५ को बराबरी खेलिन् । तर उनी सेन्सुका आधारमा पराजित हुन पुगिन् । त्यसअघि एरिकाले टर्कीकी जेना गाबाला, इटालीकी क्लिओ फेराकुती, साइप्रसकी जिआमुकी ठेओदोसिया र इजिप्टकी हैदी महघुबलाई पराजित गरेकी थिइन् ।

यो कराते लिग विश्वकै सबैभन्दा प्रतिष्ठित प्रतिस्पर्धाका रूपमा गनिन्छ । हरेक विधामा विश्वभरबाट उत्कृष्ट ३२ खेलाडीले मात्र सहभागी हुन पाउनेछन् । एरिका यो वरीयताभित्र थिइनन् । तर, कुनै खेलाडीले नाम फिर्ता लिँदा यसमा सहभागी हुन पाइन्छ । एरिकाको प्रशिक्षण टोलीले पनि अवसर पाइन्छ कि भनेर उनको नाम दर्ता गरेको थियो ।

तर, अन्तिम समयमा विश्व कराते महसंघले एरिकाको सहभागिता पक्का गरिदियो । यद्यपि, सन् २०११ देखि सुरु भएको यो प्रतियोगितामा एरिकाले प्रशिक्षक बिना नै खेल्नुप¥यो । त्यो समयसम्म प्रशिक्षकको दर्ता बन्द भइसकेकाले एरिकाले प्रशिक्षकबिना नै खेल्नुपरेको हो । यद्यपि, उनले पनि प्रशिक्षकबिना नै सफलता दिलाइन् ।

प्रकाशित: २२ जेष्ठ २०८२ १२:११ बिहीबार