नेपाली खेलकुदमा अर्को ऐतिहासिक सफलता दिलाएकी करातेकी एरिका गुरुङले यो सुरुआत मात्रै रहेको र अझै धेरै गर्न बाँकी रहेको बताएकी छन्।
मोरक्कोको राबातमा भएको कराते वान प्रिमियर लिगमा कांस्य पदक जित्दै एरिकाले इतिहास रचेकी हुन्। यससँगै उनी कराते वान प्रिमियर लिगमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनिन्। नेपालको पहिलो सहभागितामा नै एरिकाले पदक दिलाइन्।
मंगलबार स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा एरिकाले यो सुरुआत मात्रै भएको र अब अझै धेरै सफलता जित्न बाँकी रहेको प्रतिक्रिया दिएकी हुन्। महिला ६८ केजीमाथि एरिकाले कांस्य पदक भिडन्तमा फ्रान्सकी खेलाडीलाई हराउँदै ऐतिहासिक कांस्य जितेकी थिइन्। ‘यो ठूलो क्षण र सफलता हो। तर, यो सुरुआत मात्रै हो भन्न चाहन्छु। त्यहाँ मेरो नाम रजिस्टर भैरहँदा एक जनाले पहिलोपल्ट नेपालको नाम सुनेँ भन्नुभएको थियो,’ उनले भनिन्,‘पछि उहाँले नै पदक वितरण समारोहमा गर्वको महसुस गर्नुभयो।’
यो कराते लिग विश्वकै सबैभन्दा प्रतिष्ठित प्रतिस्पर्धाका रूपमा गनिन्छ। हरेक विधामा विश्वभरबाट उत्कृष्ट ३२ खेलाडीले मात्र सहभागी हुन पाउनेछन्। एरिका यो वरीयताभित्र थिइनन्। तर, कुनै खेलाडीले नाम फिर्ता लिँदा यसमा सहभागी हुन पाइन्छ। एरिकाको प्रशिक्षण टोलीले पनि अवसर पाइन्छ कि भनेर उनको नाम दर्ता गरेको थियो। तर, अन्तिम समयममा विश्व कराते महसंघले एरिकाको सहभागिता पक्का गरिदियो। ‘गुरुले मेरो नाम दर्ता गर्नका लागि नै धेरै मिहिनेत गर्नुभएको थियो। गुरु कति दिन नै सुत्नु भएन, किनकि त्यहाँ नाम राख्न नै गाह्रो थियो। अन्ततः खेल्न पाउनु नै मेरा लागि ठूलो कुरो थियो,’ उनले भनिन्।
यद्यपि, सन् २०११ देखि सुरु भएको यो प्रतियोगितामा एरिकाले प्रशिक्षक बिना नै खेल्नुप¥यो। त्यो समयसम्म प्रशिक्षकको दर्ता बन्द भइसकेकाले एरिकाले प्रशिक्षकबिना नै खेल्नुपरेको हो। यद्यपि, उनले पनि प्रशिक्षकबिना नै सफलता दिलाइन्। ‘प्रशिक्षक नहुनुको बेफाइदा खासै थिएन। भिडियो रिभ्यु गर्नुपर्ने अवस्था पनि भएन। त्यसैले पनि प्रशिक्षक नहुनुको क्षति हुन पाएन। एक्लै हुँदा पनि मेरो मस्तिष्क एक्टिभ भएको थियो।
यसबीच मैले गुरुहरूसँग पनि कुरा गरिरहेको हुन्थेँ,’ एरिकाले भनिन्,‘ प्रतिद्वन्द्वी मभन्दा धेरै बलियो थिइन्। उनले सुरुमा अग्रता पनि लिइ्। तर, पछिल्ला खेलले मलाई पुनरागमन गर्न मद्दत गर्यो।’
त्यो प्रतियोगिता खेल्ने खेलाडी र आफूहरूको स्तरमा फरक नभए पनि आत्मविश्वासमा भने केही कमजोर देखिएको एरिकाले भनिन्। ‘हामीमा क्षमता छ। तर, सबैले धैया राख्नुपर्ने आवश्यकता छ। हामीले मिहिनेत गरेअनुरूप एकदिन नतिजा आउनेछ। हामी च्याम्पियन हुनका लागि जन्मिएका हौं,’ एरिकाले आत्मविश्वासका साथ भनिन्।
एरिकालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राखेपका पूर्वसदस्यसचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।
एरिकाले फ्रेन्च खेलाडी क्लेमेन्स पिएलाई ६–२ ले पराजित गरेकी थिइन्। ‘पहिलो सहभागितामा नै नेपालको नाम राखेका छौं। अर्को सहभागितामा योभन्दा ठूलो सफलता बाँकी छ भन्ने विश्वास छ। यो क्षणका लागि सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्।
एरिकाले सेमिफाइनलमा स्पेनकी मारिया टोरेस गार्सियासँग ५–५ को बराबरी खेलिन्। तर उनी सेन्सुका आधारमा पराजित हुन पुगिन्। त्यसअघि एरिकाले टर्कीकी जेना गाबाला, इटालीकी क्लिओ फेराकुती, साइप्रसकी जिआमुकी ठेओदोसिया र इजिप्टकी हैदी महघुबलाई पराजित गरेकी थिइन्।
प्रकाशित: २१ जेष्ठ २०८२ ०८:३५ बुधबार