कीर्तिमानी धावक तथा ओलम्पियन वैकुण्ठ मानन्धर मंगलबार सम्मानित भएका छन्।
नेपालको पहिलो साइकल पसल प्याङ्क बाइकले आफ्नो सय वर्ष पुगेको अवसरमा मानन्धरलाई सम्मानित गरेको हो। काठमाडौं महानगरपालिका उपप्रमुख सुनीता डंगोल र सञ्चालक तिरेक मानन्धरले ओलम्पियन वैकुण्ठ मानन्धरलाई सम्मान गरेका हुन्।
ओलम्पियन मानन्धरले पनि एक थान प्याङ्क एडिसन बाइक प्राप्त गरेका छन्। ‘उहाँको खेलकुदप्रति अथक समर्पण र प्रेरणादायी उपस्थितिको कदर गर्दै प्याङ्क कस्टम वैकुण्ठ मानन्धर २ः१५ः०३ लिमिटेड एडिसन नामक साइकल सार्वजनिक गरेका छौं,’ सञ्चालक तिरेक मानन्धरले भने।
उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका उपप्रमुख सुनीताले प्याङ्क बाइक पनि सार्वजनिक गरेकी थिइन्।
यससँगै ओलम्पियन मानन्धर एडिसन साइकलको सद्भावना दूत नियुक्त भएका छन्। अब, यो साइकल १०० थान बिक्रीबाट उठेको फाइदा मानन्धरले पाउनेछन्। मानन्धरले सन् १९८७ को दक्षिण एसियाली खेलकुद (साग) को म्याराथन २ घण्टा १५ मिनेट ३ सेकेन्डमा पूरा गरेका थिए। ३८ वर्षपछि पनि यो कीर्तिमान दक्षिण एसियामा तोडिएको छैन। ‘यो साइकलबाट आएको रकम आफ्नै संस्थामा खर्च गर्नेछु।
दोस्रो वैकुण्ठ मानन्धर जन्माउने प्रयत्न गर्नेछु’ मानन्धरले भने, ‘यो साइकल मेरो सुविधाको लागि मात्र होइन। सम्मान र सम्झना जोडिएको छ। सम्मानित बनाउनुभएकोमा अत्यन्त कृतज्ञ छु।’
सन् १९२५ मा अष्टनारायण मानन्धरले असन कमलाक्षीमा पञ्चनारायण अष्टनारायण साइकल पसलको सुरुआत गरेका थिए। हालसम्म यो पसल असनमा यथावत् छ। प्याङ्कले कार्यक्रममा नयाँ पत्रिकाकर्मी रमेश सुवेदीलाई एक थान साइकलद्वारा सम्मान गरेको थियो। कार्यक्रममा उपस्थित पत्रकारबाट सुवेदी गोलप्रथामा विजयी भएका हुन्।
प्रकाशित: २१ जेष्ठ २०८२ ०८:१४ बुधबार