खेल

महानगरव्यापी चेसमा वडा ७ र २५ को अग्रता

सहिद सुरोज शाक्य स्मृति काठमाडौं महानगरव्यापी अन्तरवडा टिम चेस प्रतियोगिताको पहिलो दिन वडा ७ र २५ ले अग्रता लिएका छन्।

काठमाडौं महानगरपालिका वडा २२ को आयोजनामा बुधबार तीन चरणका खेलको समाप्तिपछि वडा ७ र वडा २५ ले सर्वाधिक ६ अंक बटुल्दै अग्रता लिएका हुन्। प्रत्येक वडाबाट तीन जना खेलाडीले प्रतिस्पर्धा गरेका छन्।

यस वडा टिम चेस प्रतियोगितामा महानगरकाका कुल २० वटा वडाका सहभागी टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। वडा ७ का खेलाडी अंकमा भने अगाडि छन्। पहिलो बोर्डमा सिएम पुरुषोत्तम चौलागाईं र दोस्रो बोर्डमा सिएम भगवतीप्रसाद शर्माले समान तीन तथा तेस्रो बोर्डमा सजल न्यौपानेले दुई अंक जोडे। वडा  २५ का खेलाडी हीराकाजी श्रेष्ठ पहिलो बोर्डमा तीन जोड्न सफल भए।

एफएम रिजेन्द्र राजभण्डारीले एक र रिया श्रेष्ठले तीन अंकको योगदान दिँदै हीराकाजीलाई साथ दिए। वडा २७, वडा ३, वडा १ र वडा २४ समान पाँच अंक बटुल्दै संयुक्त रूपमा दोस्रो स्थानमा छन्। वडा २७ का खेलाडी राजेन्द्र वज्राचार्यले २.५ अंक, महेश्वरलाल डंगोलले तीन अंक र विनीता कपालीले २ अंक जोडे।

वडा ३ ले पनि कुल पाँच अंक नै बटुल्यो। यो टोलीका खेलाडीहरू जेनिश तामाङले २.५, डिबी कार्कीले दुई अंक र अभिनव पाण्डेले तीन अंकको योगदान दिए। वडा १ का वृजेश राजकर्णिकारले २, बुद्धि राजकर्णिकारले २.५ र हर्षवर्धन राठीले तीन अंकको व्यक्तिगत  योगदान दिए।

वडा २४ ले पनि टिम अंक पाँच नै पुर्‍यायो। यस क्रममा बद्रीलाल नेपालीले ३, पुण्यमान कर्माचार्यले २.५ र स्पर्श सरावगीले एक अंकको व्यक्तिगत योगदान दिएका थिए। त्यसअघि काठमाडौं महानगरपालिका वडा २२ का वडा अध्यक्ष चिनिकाजी महर्जन र सहिद सुरज शाक्यका आमा कुलदेवी शाक्यले संयुक्त रूपमा चेसको गोटी चालेर प्रतियोगिताको उद्घाटन गरेका थिए।

सो अवसरमा वडा अध्यक्ष महर्जनले समग्र खेल क्षेत्रलाई विकास गर्नका साथै महानगरका वडाहरूलाई उत्प्रेरणा मिलोस् भन्ने उद्देश्यले बौद्धिक खेल बुद्धिचाल प्रतियोगिता आयोजना गरेको बताए।

प्रकाशित: १५ जेष्ठ २०८२ ०८:४९ बिहीबार

# Nagarik # Khelkud