खेल

अन्तर्राष्ट्रिय चेसमा नेपाली खेलाडी अगाडि

पूर्व चेस खेलाडी स्व। कुमार ग्वाछा स्मृति ओपन फिडे रापिड रेटिङ्ग २००० मुनि चेस प्रतियोगिताको उदघाटन खेलमा नेपाली खेलाडी अगाडि देखिएका छन् । नेपाल, भारत र ईङ्गल्याण्डका गरी कुल १२७ जना खेलाडी सहभागी बनेको प्रतियोगिता शुक्रबारदेखि भक्तपुरमा सुरु भएको हो ।  

भक्तपुर युवा टिमद्वारा आयोजित प्रतियोगितामा नेपालका कमल श्रेष्ठ र निकेन कुसाथा समान ५ अंक जोडेर शीर्ष स्थानमा रहन सफल भएका छन् । पहिलो दिन सम्पन्न पाँचौं चरणको खेलमा कमल श्रेष्ठले  पूर्णराज खड्का तथा निकेन कुसाथाले गणेश अवाललाई पराजित गर्दै अग्रता लिएका छन् ।  

१० मिनेट प्लस १० सेकेन्ड प्रति चालको समय नियन्त्रण लागु गरिएको स्पर्धामा नेपालका प्रकाशचन्द्र नेपाल, भारतका विनायक सिंह यादव, नेपालका प्रेमकृष्ण महर्जन समान ४।५ अंक जोडेर संयुक्त रुपमा दोश्रो स्थान ओगट्न सफल भए ।  

महेश्वरी बाङ्क्वेट, थुसाछा, भक्तपुरमा भएको प्रतिस्पर्धामा नेपालका पूर्णराज खड्का, भगवतीप्रसाद शर्मा, गणेश अवाल, मुहान नरसिंह श्रेष्ठ, नविन तण्डुकार, सन्देश श्रेष्ठ, बिजेश राजकर्णिकार, महेन्द्र कुमार सम्वाहाम्फे, राहुल चौ प्रधान ४ अंक बनाउदै तेस्रो स्थानमा उभिएका छन् । यस्तै भारतका आशुतोष कुमार, नेपालका पुरूषोत्तम दुवाल, रिसोन थापा, रमेशवीर माली, स्वर्णीम दुवाल, निर्मल सापकोटाले पनि ४ अंक जोडेर खेलमा सम्भावना बोकेका छन् ।

दुई दिने रापिड चेस खेलमा सहभागी ईङ्गल्याण्डका एकमात्र अनरेठेड खेलाडी वीनल जोसेफले ३ अंक जोडेका छन् । प्रतियोगिताको मुख्य निर्णायक आईए तथा फिडे प्रशिक्षक ज्ञानेन्द्र खाइजू, टेक्निकल टिम एफए सोराज ताम्राकार, एफए हरिकृष्ण श्रेष्ठ, एनए असुन राजकर्णीकार लगायतले खेल सञ्चालन गरिरहेका छन् ।  

यसअघि प्रतियोगिताको उदघाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय साँंसद् प्रेम सुवाल र भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासुले संयुक्त रूपमा चेस गोटी चालेर गरेका थिए । प्रतियोगिताको समापन शनिबार हुनेछ ।

प्रकाशित: ९ जेष्ठ २०८२ १९:२६ शुक्रबार

#NagarikNews