ईण्डियन प्रिमियर लिग (आईपीएल) मा प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेपछि अब क्वालिफायरमा स्थान बनाउने दौड सुरु भएको छ । बुधबार रातिको खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै मुम्बई इण्डियन्सले प्लेअफमा स्थान बनाएपछि सबै चार टोलीको टुंगो लागेको हो ।
समान १२ खेल खेलका गुजरात टाइटन्स १८ अंकमा शीर्ष, रोएल च्यालेन्जर्स बेंगलुरु १७ अंकमा दोस्रो र समान अंकमा पञ्जाव किङ्स तेस्रो स्थानमा छ । १३ खेलबाट १६ अंक भएको मुम्बई चौथो स्थानमा छ । मुम्बईको एक खेल बाँकी रहँदा बाँकी तीनै टोलीले अब दुई दुई खेल खेल्नेछन् ।
बिहीबारको खेलमा प्लेअफको होडबाट बाहिरिसकेको लखनऊ सुपर जाइन्ट्ससँगको खेलमा जित निकाल्न सके गुजरात क्वालिफायर नजिक पुग्नेछ । खेल नेपाली समयअनुसार राति ७ः४५ बजे अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ । गुजरतले लिगको आफ्नो अन्तिम खेल चेन्नई सुपर किङ्ससँग खेल्नेछ । जारी आईपीएलमा आफ्नो अन्तिम खेल बाँकी रहँदा चेन्नई ६ अंकमा पुछारमा छ ।
बेंगलुरुले सनराईजर्स हैदरावाद र लखनऊसँग, पञ्जावले दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्ससँग खेल्न बाँकी छ । यस्तो अवस्थामा चारै टिमको प्लेअफमा पुग्ने सम्भावना कायमै छ ।
१२ खेलमा ९ मा जित निकालेको सुभमन गिलको गुजरात लखनऊलाई हराउँदै २० अंकमा प्लेअफ नजिक पुग्ने दाउमा हुनेछ । लखनऊलाई भने स्थान सुधारको अवसरमात्र हुनेछ । गुजरात र लखनउ आर्इपीएलमा अहिलेसम्म ६ पटक आमने सामने भएका छन् । जसमा गुजरातले ४ र लखनउले २ खेल जितेका छन्। जारी सिजनको पहिलो लेगमा लखनउले गुजरातलाई ६ विकेटले हराएको थियो।
प्रकाशित: ८ जेष्ठ २०८२ १८:४० बिहीबार