कर्णाली प्रदेशस्तरीय अन्डर–१६ क्रिकेट छनोट प्रतियोगिताको उपाधि सुर्खेत जिल्लाले जितेको छ । फाइनलमा कालिकोटलाई ५२ रनले हराउँदै सुर्खेतले उपाधि चुमेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुर्खेतले निर्धारित १५ ओभरमा सात विकेटको क्षतिमा ११७ रन बनाएको थियो। सुर्खेतका नमनसिंह थापाले सर्वाधिक २७ रन बनाए । २८ बलको सामना गरेका उनले चार चौका प्रहार गरे ।
यस्तै रोशन शाहीले १५ बलमा १९ रन बनाए भने विपिन शर्माले नौ बलमा १९ रन बनाए । भूपेन्द्र शाहीले १८ रन बनाउँदा कैलाश खड्काले नटआउट १३ रन बनाए ।
कालिकोटका धिरेन्द्र शाहीले तीन ओभरमा २२ रन खर्चिएर दुई विकेट लिए भने नवीन न्यौपाने, कवि बम र निखिल तिरुवाले एक–एक विकेट लिए ।
जवाफी ब्याटिङ थालेको कालिकोटले चार विकेट गुमाएर ६५ रन मात्रै बनाउन सक्यो । कालिकोटका कप्तान तथा भरपर्दा ब्याट्सम्यान नवीन न्यौपाने २ रनमै रन आउट भएका थिए। ओपनर विपिन शाही अन्तिमसम्म क्रिजमा रहे पनि रन बनाउन सकेनन् । उनले ३८ बल खेल्दा जम्मा १९ रन बनाए । खेलको अन्त्यतिर आएका रोशन शाहीले विस्फोटक ब्याटिङ गरेका थिए । उनले २२ बल खेलेर २६ रन बनाए । उनले तीन छक्का र एक चौका प्रहार गरे । कवि बम ८ र दिपेन्द्र नौपाने तथा विकाश न्यौपाने दुई–दुई रनमा आउट भए । सुर्खेतका अफजल आलम, विजय शाही र रोशन शाहीले एक–एक विकेट लिए ।
प्रतियोगिताको समापन गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले कर्णालीमा खेल पर्यटनलाई प्रोत्साहन गर्ने गरेर सरकारले आगामी वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने बताए । ‘खेल पूर्वाधार शून्य भएको कर्णाली प्रदेशमा अहिले अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला निर्माण भएको छ,’ उनले भने, ‘अव क्रिकेटका लागि उपर्युक्त रंगशाला निर्माण गर्नुपर्ने बेला आएको छ ।’ उनले पछिल्लो समय कर्णालीले क्रिकेटमा उल्लेख्य सफलता प्राप्त गरेको बताउँदै सोही अनुसारको पूर्वाधार निर्माणमा ध्यान दिनु आवश्यक रहेको बताए ।
प्रकाशित: ८ जेष्ठ २०८२ ११:१९ बिहीबार