नेपाल आइसिसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल भएको छ । एसिया क्वालिफायरको सुपर थ्रीमा आज युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले ग्लोबल छनोटमा स्थान पक्का गरेको हो । नेपाली महिला टिमको यो ऐतिहासिक सफलता हो । नेपाल ग्लोबल क्वालिफायरमा पुगेको यो पहिलो पटक हो ।
युइईले दिएको १ सय १५ रनको लक्ष्य पूरा गर्दै नेपालले १० राष्ट्र सहभागी हुने छनोटमा आफ्नो स्थान सुरक्षित गरेको हो । लगातार दुई खेलमा पराजित भएपछि युएई सुपर- ३ मै रोकिएको छ । हिजो भएको खेलमा युएई आयोजक थाइल्यान्डसँग ५४ रनले पराजित भएको थियो । थाईल्यान्ड पनि ग्लोबल छनोटमा पुगेको छ ।
युएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा क्याप्टेन इन्दु बर्माले ३०, रुबिना क्षेत्रीले २३, सम्झना खड्काले २१ र पूजा महतोले १३ रनको योगदान गरे ।
यसअघि टेर्डथाई क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियो ।
ओपनरद्वय इशा ओजाले ३९ र थ्रीता सतिशले २१ रन जोड्दै युएईका लागि गतिलो सुरुवात दिलाएका थिए । हिना होटचान्डीले २० र लाभान्या केनीले १२ रन बनाए।
बलिङमा मनिषा उपाध्यायले ४ ओभर बलिङ गर्दै २० रन खर्चेर ४ विकेट लिइन् । कविता कुँवरले २ र राजमतिले १ विकेट लिएकी थिइन्।
एसियाली छनोट अन्तर्गत सुपर थ्रीको अन्तिम खेलमा मंगलबार नेपाल र आयोजक थाइल्यान्डबीच खेल हुनेछ ।
ग्लोबल छनोटमा सहभागी हुने १० टोलीमध्ये चार टोलीले विश्वकप खेल्नेछन् ।
प्रकाशित: ५ जेष्ठ २०८२ १२:०९ सोमबार