खेल

आइसिसी महिला टी ट्वान्टी विश्वकप: थाइल्यान्ड ग्लोबल छनोटमा

आयोजक राष्ट्र थाइल्यान्ड आइतबार आइसिसी महिला टी ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको छ।

घरेलु मैदानमा जारी आइसिसी महिला टी ट्वान्टी विश्वकपको एसिया छनोटमा सुपर थ्रीको पहिलो खेलमा जितसँगै थाइल्यान्डले ग्लोबल छनोटमा स्थान बनाएको हो। घरेलु टोली थाइल्यान्डले आइतबार संयुक्त अरब इमिरेट्स (युएई) माथि ५४ रनको जित निकाल्यो। यो जितसँगै अब नेपाल र युएईमध्ये एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ।

सोमबार नै नेपाल र युएईबीच सुपर थ्रीमा प्रतिस्पर्धा हुँदै छ। यो खेलले नै ग्लोबल छनोटमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ। त्यसैले सोमबार एकअर्काको सामना गर्दा दुवै टोली जित्नैपर्ने दबाबमा हुनेछन्। युएईलाई हराउँदा एक खेलअगावै नेपालले ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ।

तर, हार सामना ग¥यो भने नेपालको सम्भवाना सुपर थ्रीको एक खेलअगावै टुङ्गिनेछ। सुपर थ्रीमा थाइल्यान्डको पाँच खेलबाट ८ अंक छ। समान खेलबाट युएईको ६ अंक र चार खेलबाट नेपालको पाँच अंक छ। यस्तो समीकरणमा नेपालसँग सोमबारको खेलमा नै जित निकाल्नुको विकल्प हुने छैन। त्यसैले थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नुअघि नै नेपाली टोली युएईविरुद्ध सफलता निकाल्ने लक्ष्यमा हुनेछ।

थाइल्यान्डले भने सुपर थ्रीको पहिलो खेलमा नै सफलता प्राप्त गरेको हो। टेर्डथाई क्रिकेट मैदानमा थाइल्यान्डले १४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जबाफमा युएईले २० ओभर नै ब्याटिङ गरे पनि ९० रन मात्र बनाउन सक्यो।

युएईका हिना होचाँदनीले ३२, उडेनी डोनाले अविजित १७, लावण्या केनीले १४ र कप्तान ईशा ओजाले ११ रन बनाए। थाइल्यान्डको बलिङमा थिपाच्चा पुथावोङले दुई तथा चनिडा सुथिरुङ र सुनिदा चतुरंगरत्नले समान एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १४४ रनको योगफल तयार पारेको थियो।

थाइल्यान्डकी ओपनर नटया बुचाथामले ४९, नाथकन चान्थमले अविजित ४६ र कप्तान नन्नापत कोन्चारोएनकाईले ३९ रन बनाए। युएईको बलिङमा ईशा ओजाले दुई तथा सुरक्षम कोटे, केटी थम्पसन र एथिगे सिल्भाले समान एक विकेट लिए।

प्रकाशित: ५ जेष्ठ २०८२ ०७:५२ सोमबार

# Nagarik # Khelkud