खेल

प्रदेश अध्यक्षविरुद्ध अविश्वास प्रस्ताव पारित

अनियमितताको आरोप लागेका क्रिकेट संघ लुम्बिनी प्रदेश अध्यक्ष सञ्जय गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ।

कपिलवस्तुको तौलिहवामा शनिबार सम्पन्न विशेष साधारणसभाले लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित गरेको हो। निकै चासोका साथ हेरिएको लुम्बिनी प्रदेश क्रिकेट संघको साधारणसभा अन्तत् सम्पन्न भएको छ।

राष्ट्रिय खेलकुद (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी नै प्रत्यक्ष रूपमा संलग्न रहेको उक्त साधारणसभाले अन्तर्राष्ट्रिय अम्पायरसमेत रहेका अध्यक्ष गुरुङलाई हटाएको छ। प्रदेशका ४१ मध्ये ३८ जनाले अध्यक्ष गुरुङविरुद्ध मत हालेका थिए। संघका उपाध्यक्ष विनयराज भण्डारीको अध्यक्षतामा बसेको विशेष साधारणसभामा सात जिल्लाका प्रतिनिधि र प्रदेश सदस्य, जिल्लाहरू गरी ३८ जना सहभागी थिए। ४१ मध्ये एक जनाको निधन भएको हो भने अर्को एक जना विदेश गएका छन्।

उपस्थित सबै प्रतिनिधिले अध्यक्ष गुरुङविरुद्ध परेको प्रस्ताव पारित गरेको उपाध्यक्ष भण्डारीले बताए। सभामा गुरुङ अनुपस्थित थिए। गुरुङ रूपन्देही क्रिकेट संघका जिल्ला सचिवसमेत हुन्। अध्यक्ष गुरुङले एकलौटी ढंगले क्यानको विधानविपरीत ढेड वर्षदेखि संघ चलाउँदै आएको र पटकपटक सचेत गराउँदासमेत सच्चिने प्रयास नगरेको उपाध्यक्ष भण्डारीले बताए।

संघका प्रदेश कोषाध्यक्ष राजेश श्रेष्ठको ढेड वर्षअघि नै मृत्यु भएको थियो। क्यानको विधानअनुसार चेकमा कोषाध्यक्षको अनिवार्य दस्तखत हुनुपर्ने प्रावधान छ। तर कोषाध्यक्षको मृत्यु भए पनि अध्यक्ष गुरुङले विधानविपरीत एकलौटी ढंगले चलाउँदै आएको उपाध्यक्ष भण्डारीले उल्लेख गरे।

सच्चिने संकेत नभएपछि आफ्नै नेतृत्वमा गत चैत २२ गते ३१ जनाले अध्यक्ष गुरुङविरुद्ध नेपाल क्रिकेट संघ (क्यान) मा अविश्वासको प्रस्ताव दर्ता गराएको उनले बताए। अध्यक्ष गुरुङले भने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले चलखेल गरी आपूmलाई हटाउने प्रपञ्च रचेको आरोप लगाउँदै आएका छन्।

अविश्वासको प्रस्वाव दर्ता भएपछि अध्यक्ष चन्दले विशेष साधारणसभा गर्न र सचिव पारस खड्काले स्थगन गर्न छुट्टाछुट्टै पत्र पठाएका थिए। उक्त विवाद राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पनि पुगेको थियो। राखेपले सुरुमा विशेष साधारणसभा नगर्न निर्देशन दिएको थियो। तर, जेठ ३१ गते राखेपले फेरि पत्र पठाउँदै जेठ २ गते तय साधारणसभा विधानमा रही सञ्चालन गर्न निर्देशन दियो।

राखेपका संघसंस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले संघको विनियमावली अनुसार संघको विधान र विनियमावलीको प्रतिकूल नहुने गरी काम गर्न क्यानलाई पत्र पठाएको हो। क्यानका सचिव पारस खड्काले राखेपको स्विकृति पत्र आएपछि पनि यो साधारणसभा रोक्न निर्देशन दिएको क्यानका एक सदस्यले उल्लेख गरे।

 ‘उहाँ जसरी हुन्छ, गलत काम गर्ने लुम्बिनी प्रदेश क्रिकेटका निलम्बित अध्यक्ष सञ्जय गुरुङलाई संरक्षण गर्ने प्रयासमा हुनु हुन्थ्यो। शुक्रबार साँझ र शनिबार बिहान पनि यो साधारणसभा रोक्न शक्तिकेन्द्र नै धाउनु भयो। तर, उहाँका गलत मनसायलाई लुम्बिनी क्रिकेटका प्रतिनिधिले साथ दिनु भएन,’क्यानका ती सदस्यले भने।

अविश्वास प्रस्तावबाट हटाइएका गुरुङ अन्तर्राष्ट्रिय निर्णायक पनि हुन्। उनी स्वार्थ बाझिने स्थानमा रहकाले दुईमध्ये एक छोड्नु पर्ने आवाज पनि उठिरहेको छ। तर, शनिबार कपिलवस्तुमा भएको लुम्बिनीको साधारणसभाले नै गुरुङलाई एक जिम्मेवारीबाट हटाएको छ। राखेपको सो पत्रअनुसार नै विशेष साधारणसभा गरिएको संघका केन्द्रीय सदस्य प्रदीप मजगैयाँले बताए।

प्रदेशका उपाध्यक्ष भण्डारीको अध्यक्षतामा बसेको प्रदेश कार्य समितिको बैठकले भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि दिएको छ। दुई सातापछि हुने फेरि अर्को विशेष साधारणसभाले प्रदेश अध्यक्ष र कोषाध्यक्षको चयन गर्नेछ। प्रदेश समिति १३ सदस्यीय हुनेछ। कपिलवस्तु, रूपन्देही, पाल्पा, दाङ, बाँके, बर्दिया, पश्चिम नवलपरासीमा क्यानको जिल्ला कार्यसमिति छ।

सो जिल्लाबाट चार जनाका दरले २८ जना र प्रदेशका १३ जना समेत गरी सभामा ४१ जना प्रतिनिधि रहने प्रावधान छ। जसमध्ये कोषाध्यक्षको मृत्यु भइसकेको, एक जना विदेशमा छन्।

विशेष साधारणसभामा सांसद तथा पूर्वमन्त्री सुरेन्द्रराज आचार्य, लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, संघका केन्द्रीय सदस्य मजगैयाँ, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष खगप्रसाद चापागाईंलगातयले संघ विधिविधानअनुसार चल्नुपर्ने बताएका थिए। सचिव कैलाश रोकामगरको सञ्चालनमा भएको सभामा प्रजिअ दिलीपकुमार तामाङ, क्रिकेट संघका प्रतिनिधि र पदाधिकारीलगायतको सहभागिता थियो।

प्रकाशित: ४ जेष्ठ २०८२ ०७:५४ आइतबार

# Khelkud # Nagarik