खेल

प्लानिङ ब्वाइज शीर्ष डिभिजनमा

प्लानिङ ब्वाइज युनाइटेड दुई खेल बाँकी छँदा नै नेपाली घरेलु फुटबलको शीर्ष डिभिजन लिगमा उक्लिएको छ।

जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा प्लानिङले मंगलबार बाँसबारी क्लबमाथि २–० को जित निकाल्यो। यो जितसँगै लिगमा कम्तीमा शीर्ष दुई स्थान पक्का गर्दै प्लानिङले शीर्ष डिभिजनको यात्रा पक्का गरेको हो। अब प्लानिङले लिगमा दुई खेल्न बाँकी छ।

यी दुवै खेलमा हार बेहोरे पनि प्लानिङ शीर्ष दुईमा नै रहने पक्का छ। सन् २०१२ देखि नेपालको घरेलु लिग खेल्ने थालेको प्लानिङले १३ वर्षमा नै शीर्ष डिभिजनको यात्रा तय गरेको हो। प्लानिङले सन् २०१२ पहिलोपल्ट ‘डी’ क्वालिफाइङ खेलेको थियो। सोही वर्ष नै ‘सी’ डिभिजन लिगका लागि छनोट पनि भयो। प्लानिङले ‘सी’ डिभिजन लिग पार गर्न लामो समयसम्म प्रयास गर्‍यो। तर, २०७९ सालमा मात्र सफल भयो।

२०७९ सालको ‘सी’ डिभिजन लिगमा प्लानिङ उपविजेता बन्दै ‘बी’ मा उक्लिएको हो। त्यसपछि लामो समय लिग हुन सकेन। ‘बी’ डिभिजन खेलेको पहिलो प्रयासमा नै प्लानिङ शीर्ष डिभिजनमा पुग्न सफल भएको हो। प्लानिङ ब्वाइजका अध्यक्ष दावा लामाले क्लबका पदाधिकारी, प्रायोजक र समर्थकको मायाले दशकपछि शीर्ष डिभिजन पुग्दा खुसी लागेको बताए।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा प्लानिङको जितमा पूजन थापाले एक गोल गरे। एक गोल आत्मघाती भएको हो। प्लानिङले ११ खेलबाट २७ अंक जोड्यो। पराजित बाँसबारी ११ खेलबाट १५ अंकका साथ सातौं स्थानमा झरेको छ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमै सकियो। दोस्रो हाफको सुरुमा नै प्लानिङ ब्वाइजले गोल गर्‍यो। खेलको ४७औं मिनेटमा सन्दीप राउतबाट आत्मघाती गोल हुने पुग्दा प्लानिङ ब्वाइजले अग्रता लिएको थियो। पूजनले ८१औं मिनेटमा गोल गर्दै प्लानिङ ब्वाइजको अग्रता २–० ले पुर्‍याए। त्यसपछि बाँकी समयमा गोल हुन सकेन र प्लानिङ ब्वाइजले जित निकाल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगको यात्रा तय गर्‍यो।

धीरेन्द्रको पुनरागमनमा सरस्वतीको जित

फरवार्ड धीरेन्द्रबहादुर शाहको निलम्बन फुकुवा भएको खेलमा सरस्वती युथ क्लबले जारी ‘बी’ डिभिजन लिगमा मंगलबार सहज जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा सरस्वतीले मंगलबार वीरगन्ज युनाइटेडविरुद्ध ३–० को सहज जित निकालेको हो। सरस्वतीको जितमा धीरेन्द्रबहादुरसँगै ज्ञानेन्द्र जोशी र नरेशकुमार खत्री गोल गरे। धीरेन्द्रले निलम्बन फुकुवा भएपछिको पहिलो खेलमै गोल गरेका हुन्।

नयाँ बस्ती युवा क्लबका टिम म्यानेजर विकास राईले गत चैत ७ गते आफ्नो क्लबसँग भएको खेलमा धीरेन्द्रविरुद्ध उजुरी गरेका थिए। यो खेलमा सरस्वती १–० ले विजयी भएको थियो। त्यसपछि एन्फाले धीरेन्द्रलाई निलम्बन गर्दै सरस्वतीको अंक खोसेको थियो।

उजुरीउपर छानबिन हुँदा धीरेन्द्रले फरकफरक मितिमा टुसाल र सरस्वतीसँग लिग खेल्न सम्झौता गरेको देखिएकाले एन्फा अनुशासन समितिले उनलाई खेल्न दिने मंगलबार निर्णय गरेको हो। सरस्वतीको खोसिएको अंक पनि फिर्ता गरिएको छ।

 धीरेन्द्रले २०७९ ‘बी’ डिभिजन लिगका लागि टुसाल युथ क्लबसँग सम्झौता गरेका थिए। तर, लिग नभएपछि उनी जारी लिगका लागि सरस्वती युथ क्लबमा आबद्ध भएका हुन्। धीरेन्द्रले सरस्वतीबाट लिगमा सुरुआती दुई खेल खेल्दा दुई गोल गरेका थिए। त्यसयता भने एन्फाले धीरेन्द्रलाई लिग खेल्न रोक लगायो। यसबीच उनले आठ खेल गुमाउन पुगे। उनको पुनरागमनमा सरस्वतीले जित निकाल्यो।

जितसँगै ११ खेलबाट १५ अंक जोडेको सरस्वती आठौं स्थानमा उक्लिएको छ। यो जितले सरस्वतीलाई रेलिगेसनको संकटबाट माथि उठाएको छ। यो हारपछि वीरगन्ज चौथो स्थानमा झरेको छ।

खेलको १८औं मिनेटमा ज्ञानेन्द्रको गोलमार्पmत सरस्वतीले अग्रता लिएको थियो। त्यसपछि पहिलो हाफमा सरस्वती १–० ले अगाडि रह्यो। दोस्रो हाफमा पनि सरस्वतीले दुई गोल थप्यो। ५६औं मिनेटमा नरेशले टोलीको अग्रता दोब्बर बनाए। धीरेन्द्रले ७२औं मिनेटमा गोल गर्दै सरस्वतीलाई ३–० को सहज जित दिलाए।  

प्रकाशित: ३१ वैशाख २०८२ ०७:३० बुधबार

# Khelkud # Nagarik