खेल

झापा र आरसिटीको जित

झापा एफसी र रानी पोखरी कर्नर टिम (आरसिटी) अन्नपूर्णले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सोमबार जित निकालेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार झापाले नयाँ बस्ती युवा क्लबमाथि ३–१ ले र आरसिटीले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) माथि २–१ को जित निकालेका हुन्। यो हारपछि नयाँ बस्ती युवा क्लबमाथि रेलिगेसनको खतरा बढेको छ। 

जितसँगै झापा–११ खेलमा १५ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ। पराजित नयाँ बस्ती समान खेलबाट आठ अंकका साथ पुछारमा छ। झापाको जितमा राजेश दाहालले दुई तथा बबिन बोहराले एक गोल गरे। नयाँ बस्तीका सुमन योङ्याले गोल फर्काए।

खेलको पाँचौं मिनेटमा बबिनको गोलमार्पmत झापाले अग्रता लिएको थियो। ३९औं मिनेटमा राजेशले टोलीको अग्रता दोब्बर बनाए। यससँगै पहिलो हाफमा झापा २–० ले अगाडि रह्यो। समुनले ६८औं मिनेटमा गोल गर्दै नयाँ बस्तीलाई खेलमा फर्काउने संकेत दिएका थिए। 

तर निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा राजेशले व्यक्तिगत दोस्रो गोल गर्दै झापालाई ३–१ को जित दिलाए। अर्को खेलमा आरसीटीले ब्रिगेड व्बाइज क्लब (बिबिसी) विरुद्ध २–१ को जित निकाल्यो। ११औं चरणको खेलमा रेलिगेसन क्षेत्रनजिकै आरसिटीका अजित गुरुङ र निखिल तामाङले गोल गरे। 

बिबिसीका अभिषेक रानामगरले सान्त्वना गोल फर्काए। खेलको १४औं मिनेटमा अजितले आरसिटीलाई अग्रता दिलाएका थिए। यससँगै आरसिटी पहिलो हाफमा १–० ले अगाडि रह्यो। निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा निखिलले अग्रतालाई दोब्बर पारेका थिए। इन्जुरी समयमा अभिषेकले एक गोल फर्काए। आरसिटीको यो लगातार दोस्रो जित हो। 

यसअघिको खेलमा आरसिटीले च्यासल युवा क्लबलाई ३–२ ले हराएको थियो। यो जितसँगै आरसीटी रेलिगेसन खतराबाट अगाडि बढेको छ। आरसिटी १४ अंक जोड्दै सातौं स्थानमा उक्लियो। हारले बिबिसीको रेलिगेसने खतरा बढेको छ। बिबिसी १२ अंक जोड्दै १०औं स्थानमा छ। दुई खेल बाँकी रहँदा बिबिसीलाई बाँकी दुई खेल जित्नैपर्ने दबाब रहनेछ। दोस्रो खेलमा पुछारको नयाँ बस्तीले झापा एफसीको सामना गर्नेछ। 

लिगको ११औं चरण सुरु भइरहँदा शीर्ष स्थानको प्लानिङ ब्वाइज युनाइटेड ‘ए’ डिभिजनमा उक्लिन एक जित टाढा छ। प्लानिङले १० खेलबाट 
२४ अंक जोडेको छ। समान खेलबाट २२ अंक जोडेको श्री भगवती क्लब दोस्रो स्थानमा छ। ‘ए’ डिभिजनमा उक्लिन भगवतीलाई तीन खेलमा चार अंक आवश्यक छ। सरस्वती युवा क्लब ९ र नयाँ बस्ती युवा क्लब ८ अंकका साथ अंकतालिकाको पुछारमा छन्।

प्रकाशित: ३० वैशाख २०८२ ०७:४९ मंगलबार

#NagarikNews