आर्सनलले प्रिमियर लिगमा च्याम्पियन्स लिग स्थानका लागि निर्णायक भिडन्त तय गरेको छ। योसँगै युरोपियन क्लब फुटबलको शीर्ष प्रतियोगितामा स्थान सुरक्षित गर्न जारी संघर्ष झनै चर्किएको छ। सप्ताहान्तमा भएको अप्रत्याशित नतिजा र रोमाञ्चक पुनरागमनसँगै अब चार स्थानका लागि लडिरहेका ६ वटा टोलीबीचको दौड अन्तिम दुई खेलसम्म जाने देखिन्छ।
प्रिमियर लिगको शीर्ष पाँच टोलीले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउने व्यवस्थाअनुसार दोस्रो स्थानमा रहेको आर्सनल र सातौं स्थानमा रहेको नटिङघम फरेस्टबीच अब ६ अंकको फरक छ।
आर्सनल र तेस्रो स्थानको न्युक्यासलबीच मात्र दुई अंकको अन्तर छ। यी दुई टोली आइतबार इमिरेट्स स्टेडियममा आमनेसामने हुनेछन । आइतबार आर्सनलले लिभरपुलसँग २–२ को रोमाञ्चक बराबरी खेल्दा न्युक्यासलले चेल्सीलाई २–० ले हरायो।
शनिबार अन्तिम स्थानको साउथह्याम्पटनसँग गोलरहित बराबरी खेलेको म्यानचेस्टर सिटी चौथो स्थानमा छ। सिटी पनि शीर्ष पाँचमा अटाउने संघर्षमा छ।
नटिङ्घम फरेस्टले पनि रेलिगेट भइसकेको लेस्टरसँग २–२ को बराबरी खेल्दा सम्भावना कमजोर बनेको छ। खेलपछि क्लब मालिक इभान्जेलोस मारिनाकिसले प्रशिक्षक नुनो एस्पिरिटो सान्तोसँग मैदानमै बहस गरेको देखिएको थियो। युरोपा लिग फाइनल खेल्ने तयारीमा रहेका म्यानचेस्टर युनाइटेड र टोटनह्याम दुवैले घरेलु मैदानमा २–० को हार बेहोरे। युनाइटेड वेस्ट ह्यामसँग पराजित भयो भने टोटनह्याम एफए कप फाइनल खेल्ने क्रिस्टल प्यालेससँग पराजित भयो।
यस साता पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग हार बेहोर्दै आर्सनल च्याम्पियन्स लिग सेमिफाइनलबाट बाहिरिएको थियो। आर्सनलको मुख्य ध्यान अब लिगमार्फत पुन: च्याम्पियन्स लिगमा फर्किनेमा केन्द्रित छ।
लिभरपुलविरुद्ध खेलको २१औँ मिनेटमा नै २–० ले पछि परेको अवस्थामा मिकेल आर्टेटाको टोलीको लागि त्यो दिन अर्को निराशाजनक बन्ने देखिएको थियो। ५ लिग खेलमा एक जितको लयमा रहेको टोलीले फेरि एकपटक हारको डर झेलेको थियो।
यद्यपि दोस्रो हाफमा गेब्रियल मार्टिनेली र मिकेल मेरिनोको गोलमार्फत आर्सनलले खेलमा पुनरागमन गर्यो। मेरिनोलाई पछि रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाइएको थियो। ‘पहिलो हाफमा हामीले देखाएको स्तर अस्वीकार्य थियो। त्यसपछि प्रतिक्रिया दिनु राम्रो हो, तर सुरुआतमै त्यो स्तर नदेखाउनु ठूलो गल्ती हो,’ प्रशिक्षक आर्टेटाले भने । एजेन्सी
प्रकाशित: ३० वैशाख २०८२ ०७:३९ मंगलबार