खेल

अन्तरविद्यालय क्रिकेट प्रतियोगिता : हार्भेस्टमुन र डिभी निकेतनको शानदार विजयी सुरुवात

वीरेन्द्रनगरमा जारी अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा डिभी निकेतन र हार्भेस्टमुन बोर्डिङ स्कूलले विजयी सुरुवात गरेका छन्। मङ्गलबारको दोस्रो खेलमा हार्भेस्टमुनले सिल्भरलाइन एकेडेमीलाई १२४ रनले पराजित गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको हार्भेस्टमुनले आठ विकेटको क्षतिमा १७७ रन बनायो।  

हार्भेस्टमुनका प्रेम थापाले सर्वाधिक ४८ रन बनाए। ३१ बलको सामना गरेका थापाले तीन छक्का र पाँच चौका प्रहार गरे। हार्भेस्टमुनका रोहितकुमार जोशीले १२, गणेश शाहीले १३, निशान बण्डालाले नटआउट २५ र याम सिंहले नटआउट १२ रन बनाए।

सिल्भरलाइनका सुवासकुमार मल्लले चार विकेट लिए भने हिमाल शाहीले दुई तथा विपिन बुढा र आर्यन भण्डारीले एक–एक विकेट लिए। जवाफी ब्याटिङ गरेको सिल्भरलाइन जम्मा ५३ रनमा अलआउट भयो। उसका लागि प्रशन्न भूषालले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्क छुन सकेनन्। सिल्भरलाइनका तीन जना ब्याट्सम्यान शून्यमा र पाँच जना एक रन बनाएर आउट भए।

सिल्भरलाइनलाई सस्तैमा समेट्ने क्रममा दीपेश सिंहले सर्वाधिक चार विकेट लिए। जम्मा दुई ओभर बलिङ गरेका उनले सात रन खर्चिएका थिए। यस्तै, सन्दीप बिसीले दुई तथा प्रेम थापा, अनिल विष्ट, उपेन्द्र शाहीले एक–एक विकेट लिए।

मङ्गलबार भएको पहिलो खेलमा डिभी निकेतनले साउथ एसियन स्कलर्स एकेडेमीलाई ८५ रनले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको डिभी निकेतनले पाँच विकेटको क्षतिमा १२९ रन बनाएको थियो। डिभी निकेतनका भूपेन्द्र शाहीले सर्वाधिक ७६ रन बनाए। ३३ बलको सामना गरेका उनले सात छक्का र छ चौका प्रहार गरे। यस्तै, विजय शाहीले १७ बलमा २० रन बनाए। साउथ एसियनका विक्रम वली र सुपर खरालले समान दुई–दुई विकेट लिए भने वसन्त शाहीले एक विकेट लिए।

जवाफी ब्याटिङ थालेको साउथ एसियन ४४ रनमै समेटियो। उसका लागि डेकेन्द्र थापाले २३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन्। साउथ एसियनलाई सस्तैमा समेट्ने क्रममा योकेन्द्र बुढाले सर्वाधिक चार विकेट लिए भने प्रकाश रोकायाले तीन विकेट लिए। दीपेन्द्र शाही, सुनिल शाही र गौरव बुढाले समान एक–एक विकेट लिए। ७६ रन बनाएका भूपेन्द्र शाही खेलको प्लेयर अफ दि म्याच घोषित भए।

प्रकाशित: २४ वैशाख २०८२ ०८:०६ बुधबार

#NagarikNews