खेल

आदिल आलमको प्रतिबन्ध हट्यो

क्रिकेटर मोहम्मद आदिल आलममाथिको प्रतिबन्ध फुकुवा भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरी लगाइएको प्रतिबन्ध नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार हटाएको हो । 

२०७९ सालको पुस ९ देखि २७ गतेसम्म काठमाडौंमा भएको नेपाल टी२० क्रिकेट लिगमा स्पट फिक्सिङ गरेको पाइएपछि एन्टी करप्सन कोडअन्तर्गत उनीमाथि कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी क्यानले प्रतिबन्ध लगाएको थियो ।  

क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गर्दै आज सोमबारदेखि आदिल आलममाथि लगाइएका सम्पूर्ण प्रतिबन्ध फकुवा भएको उल्लेख छ । क्यानको इन्टिग्रिटी युनिटले आवश्यक छानविन गरेर बुझाएको प्रतिवेदन अनुसार प्रतिवेदन फुकुवा गरेको विज्ञप्तिमा उल्लेख छ ।

मध्यम गतिका बलर आदिल आक्रामक ब्याटिङ र फिल्डिङमा पनि राम्रो मानिन्छन् । राष्ट्रिय टिमबाट समेत अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका आलमलाई क्यानको निर्णयले पुनः राष्ट्रिय टिममा फर्कने बाटो खुलेको छ । 

आदिल र महबुब आलमले २०८० चैत्र १३ गते काठमाडौं जिल्ला अदालतबाट सफाइ पाइसकेका थिए । उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विभिन्न आरोप सहित मुद्दा दायर गरेको थियो ।

प्रकाशित: २२ वैशाख २०८२ १७:३० सोमबार

#Nepal Cricket Association (CAN) #Md Adil Aalam