अरूण लामाको ह्याट्रिकसहित चार गोल प्रेरणामा आयोजक गोदावरी नगरपालिकाले दोस्रो उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा सानदार सुरुआत गरेको छ।
गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा शनिबारदेखि सुरु भएको उद्घाटन खेलमा गोदावरीले महालक्ष्मी नगरपालिकामाथि ६–१ को सानदार जित निकालेको हो। गोदावरीको अरूणले ह्याट्रिकसहित चार गोल गरे। पासाङ तामाङले एक गोल थपे।
आयोजकले एक गोल आत्मघाती उपहार स्वरूप प्राप्त गर्यो। महालक्ष्मीका लागि रोनेश राउतले गोल फर्काए। खेलको २२औं मिनेटमा पासाङको गोलमार्फत गोदावरीले अग्रता लिएको थियो। अरूणले ३०औं र ३२औं मिनेटमा गोल गरे। यसपछि गोदावरीले पहिलो हाफमै ३–० को सहज अग्रता लियो।
महालक्ष्मीका निशान रावलले ६१औं मिनेटमा आत्मघाती गोल गरे। यसपछि आयोजक ४–० ले अगाडि बढ्यो। अरूणले ८४औं मिनेटमा ह्याट्रिक पूरा गरे। दुई मिनेटपछि नै अरूणले व्यक्तिगत चौथो तथा टोलीका लागि छैटौं गोल गरे।
९०औं मिनेटमा महालक्ष्मीका रोनेशले गोल गरे। तर, महालक्ष्मीका लागि त्यो गोल सान्त्वना बन्यो। यसअघि प्रतियोगिताको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरेका थिए। कार्यक्रममा बागमती प्रदेशका खेलकुदमन्त्री मीनकृष्ण महर्जन र गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनलगायत उपस्थित थिए।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले ३ लाख रूपैयाँसहित ट्रफी पाउने आयोजक नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए। प्रतियोगिताको अनुशासित टोलीले ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रूपैयाँ पाउनेछन्।
प्रकाशित: २१ वैशाख २०८२ ०७:५८ आइतबार