खेल

गोर्खाली रग्बी क्लब च्याम्पियन

गोर्खाली रग्बी क्लब मंगलबार फिफ्टिन्स रग्बी च्याम्पियनसिपको पाँचौं संस्करणमा च्याम्पियन भएको छ।  

नेपाल रग्बी संघको आयोजनामा राउन्ड रोबिन लिगको आधारमा मंगलबार सम्पन्न प्रतियोगितामा गोर्खाली क्लब अपराजित रहँदै च्याम्पियन भएको हो। गोर्खालीले लिगको अन्तिम दिनको खेलमा नेपाल पुलिस क्लबलाई ५५–० ले हराउँदै उपाधि रक्षा गर्‍यो। यस जितसँगै गोर्खालीले लिगका तीनवटै खेल जित्दै अंकतालिकाको शीर्ष स्थानमा रह्यो। मंगलबार नै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लब सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई संघर्षपूर्ण तरिकाले १९–७ ले हराउँदै उपविजेता बन्न सफल भयो। गत वर्षको उपविजेता एपिएफ यसपल्ट भने तेस्रो स्थानमा सीमित भयो। नेपाल पुलिस क्लबले भने प्रतियोगितामा अंकविहीन भएर टुङ्ग्यायो।  

प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राखेपका सदस्य कमल भट्टराई, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी र महासचिव गोविन्द घिमिरेलगायतले पुरस्कृत गरे। विजेता गोर्खालीले नगद दुई लाख २२ हजार २ सय २२ रूपैयाँ प्राप्त गरे भने उपविजेता एपिएफले एक लाख ११ हजार १ सय ११ रूपैयाँ पायो। प्रतियोगिताको सर्वोकृष्ट खेलाडी गोर्खाली रग्बी क्लबका विजय खड्का घोषित भए। उनले १५ हजार रूपैयाँ प्राप्त गरे। प्रतियोगिताको कठिन मानिएको दुई खेलमा एपिएफ र त्रिभुवन आर्मीलाई पराजित गरिसकेको गोर्खाली रग्बी क्लबका लागि मंगलबारको खेल तुलनात्मक रूपमा सहज बन्न पुग्यो।

एकपक्षीय खेलमा गोर्खालीले पहिलो हाफमा ४०–० को अग्रता लिइसकेको थियो। गोर्खालीका प्रशिक्षक कृष्ण थापा क्षेत्रीले पहिलो सेटमै वैकल्पिक खेलाडी राखेर मैदानमा उतारेका थिए। पहिलो पटक फिफ्टिन्स खेलिरहेको नेपाल पुलिस क्लबसँगको खेल सहज हुने अनुमान गरिएजस्तै नै खेलमा गोर्खाली सुरुआतदेखि नै हाबी हुन पुग्यो। दोस्रो हाफमा भने टोलीले १५ अंक थप्यो। त्रिभुवन आर्मी र एपिएफबीचको खेल भने निकै प्रतिस्पर्धात्मक बन्यो। एपिएफले सुरुआतमा एक ट्राई र कन्भर्जनलाई सफल पार्दै सात अंक जोडेको थियो। आर्मीले पाँच अंक जोडेपछि पहिलो हाफ ७–५ को प्रतिस्पर्धात्मक स्थितिमा पुग्यो। तर दोस्रो हाफमा आर्मी खेलमा फर्कियो।

दोस्रो हाफको सुरुआतमा लगातार साात अंक जोडेपछि खेलमा आर्मीले खेलमा अग्रता बनायो। आर्मीले त्यो अग्रतालाई अन्तिम समयसम्म कायम राख्यो। एपिएफले खेलमा फर्किने प्रयास सफल भएन। बरु खेल सकिनै लाग्दा आर्मीले अर्को ट्राई गरेर खेल १९–७ ले जित्न सफल भयो। नेपाल रग्बी संघको आयोजनामा राउन्ड रोबिन लिगको आधारमा सम्पन्न प्रतियोगितामा तीन विभागीय टोली र गोर्खाली रग्बी क्लब गरी चार टोलीले प्रतिस्पर्धा गरेका थिए। यो प्रतियोगिताबाट राष्ट्रिय टोली घोषणा गर्ने रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए। उक्त टोलीले दुई महिनापछि नेपाल र बंगलादेशबीच काठमाडौंमा हुने फिफ्टिन्स रग्बी शृंखलामा खेल्नेछ। 

प्रकाशित: ३ वैशाख २०८२ १७:४० बुधबार