खेल

क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण: रोहित र सन्दीप ‘ए’ मा, कुशल र करण ‘बी’ मा झरे

नेपाल क्रिकेट संघ (क्यान) ले २०२५ का लागि खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। पुरुष तथा महिला दुवै टिमका खेलाडीलाई ग्रेडअनुसार वर्गीकृत गर्दै मासिक तलब निर्धारण गरिएको छ।

क्यानले बुधबार सार्वजनिक गरेको वर्गीकरणअनुसार पुरुषतर्फ ग्रेड ‘ए’ मा पाँच खेलाडी परेका छन्। कप्तान रोहितकुमार पौडेलसँगै दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आसिफ शेख र सन्दीप लामिछाने यस श्रेणीमा छन्।

यसअघि ग्रेड ‘ए’ मा रहेका करण केसी र कुशल भुर्तेल भने घटुवा भई ग्रेड ‘बी’ मा राखिएका छन्। ग्रेड ‘बी’ मा गुलशनकुमार झा, ललितनारायण राजवंशी र अनिकुमार शाह समेत छन्। अनिल पहिलो पटक वर्गीकरणमा समेटिएका हुन्।

यस्तै, अलराउन्डर कुशल मल्ल र आरिफ शेख ग्रेड ‘बी’ बाट घटुवा भई ग्रेड ‘सी’ मा परेका छन्। सन्दीप जोरा र भीम सार्की पनि ग्रेड ‘सी’ कै खेलाडी हुन्।

पुरुष खेलाडीको केन्द्रीय सम्झौता छ महिनाको हुनेछ (जनवरी-जुन) र त्यसपछि प्रदर्शनका आधारमा पुनः वर्गीकरण गरिनेछ।

वर्गीकरण विवरण:

ग्रेड ए: रोहित कुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आशिफ शेख

ग्रेड बी: कुशल भुर्तेल, गुलशनकुमार झा, करण केसी, ललितनारायण राजवंशी, अनिलकुमार साह

ग्रेड सी: सन्दीप जोरा, आरिफ शेख, भीम सार्की, कुशल मल्ल

ग्रेड डी: सागर ढकाल, लोकशबहादुर बम, साहव आलम, आकाश चन्द, विवेककुमार यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहरा, मयन यादव

उदीयमान खेलाडी: दीपेश प्रसाद कँडेल, रुपेशकुमार सिंह, शुभ कंसाकार, अर्जुन कुमाल, सन्तोष यादव, अर्जुन घर्ती, हेमन्त धामी 

महिला खेलाडी वर्गीकरण

महिला क्रिकेटतर्फ ग्रेड ‘ए’ मा चार खेलाडी परेका छन्।

कप्तान इन्दु बर्मा, अलराउन्डरद्वय रुविना क्षेत्री र सीता रानामगर यसअघि पनि ग्रेड ‘ए’ मै थिए। यसपटक पूजा महतोले ग्रेड ‘सी’ बाट बढुवा भई ग्रेड ‘ए’ मा स्थान बनाएकी छन्।

नेपाललाई यु-१९ विश्वकप र एसिया कपमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेकी पूजा यसअघि ग्रेड ‘सी’ मा थिइन्।

यसैगरी, ग्रेड ‘बी’ मा कविता कुँवर यथावत् रहेकी छन्। ग्रेड ‘सी’ मा भने कविता जोशी र सम्झना कुमारी खड्का परेका छन्।

महिला खेलाडीको केन्द्रीय सम्झौता पनि पुरुषतर्फकै जस्तै जनवरीदेखि जुनसम्मको हुनेछ, जसपछि पुनः वर्गीकरण गरिनेछ।

वर्गीकरण विवरण:

ग्रेड ए: इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, सीता रानामगर

ग्रेड बी: कविता जोशी

ग्रेड सी: कविता कुँवर, सम्झना कुमारी खड्का

ग्रेड डी: बिन्दु रावल, अलिशाकुमारी यादव, मनीषा कुमारी उपाध्याय, साना प्रविन, रिया शर्मा, सीमाना के.सी., कृष्णा गुरुङ, सावित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, ज्योत्सनिका मरासिनी, रचनाकुमारी चौधरी

पुरुषतर्फ: ग्रेड ‘ए’ का खेलाडीले मासिक १ लाख, ग्रेड ‘बी’ का खेलाडीले ७० हजार, ग्रेड ‘सी’ का खेलाडीले ५० हजार र ग्रेड ‘डी’ का खेलाडीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

महिलातर्फ: ग्रेड ‘ए’ का खेलाडीलाई ५० हजार, ग्रेड ‘बी’ का खेलाडीलाई ३५ हजार रुपैयाँ दिइनेछ।

क्यानका अनुसार खेलाडीको प्रदर्शनका आधारमा आगामी जुलाईदेखि डिसेम्बरसम्मका लागि पुनः वर्गीकरण गरिनेछ।

0

प्रकाशित: २८ फाल्गुन २०८१ १९:१३ बुधबार