नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । एक्स्ट्रा टेक ओभल स्टेडियममा भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले पराजित गरेको हो ।
पुलिसले दिएको २५० रनको लक्ष्य पछाएको लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ७२ रन बनाए। सात खेलाडीले दोहोरो अङ्कको स्कोर गर्न नसकेपछि लुम्बिनी कम स्कोरमा समेटियो ।
बलिङमा सागर ढकालले आफ्नो स्पेलमा २ मेडन सहित ३२ रन खर्चेर ३ विकेट लिए। ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीको नाममा समान २ विकेट रह्यो ।
यसअघि पहिले ब्याटिङ गरेको नेपाल पुलिसले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २४९ रन बनाएको थियो । पुलिसका लागि कुशल भुर्तेलले ५९, आरिफ शेखले ५६, दिलिप नाथले ३४ रन बनाउँदा गुल्सन झा ३६ रनमा अविजित रहे।
लुम्बिनीका लागि अजय चौहान र कृष्ण कार्कीले समान ३ विकेट लिए । लुम्बिनीले आइतबार कोशी प्रदेशलाई हराएको थियो भने पुलिसको यो पहिलो खेल हो ।
प्रकाशित: २६ फाल्गुन २०८१ १८:२८ सोमबार