खेल

१२ वर्षपछि भारतले जित्यो च्याम्पियन्स ट्रफी, न्यूजिल्यान्ड ४ विकेटले पराजित

भारतले १२ वर्षपछि च्याम्पियन्स ट्रफीको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ। दुबई इन्टरनेसनल स्टेडियममा भएको फाइनल खेलमा भारतले न्यूजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि उचालेको हो।

२ सय ५२ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभरमै जित हात पार्‍यो। कप्तान रोहित शर्माको नेतृत्वमा यो ९ महिनाभित्र दोस्रो आइसिसी उपाधि हो। यसअघि, उनले गत जुन २९ मा टी-२० विश्वकप जिताएका थिए।

रोहितले कप्तानी पारी खेल्दै ७६ रनको योगदान दिए। रन चेजमा श्रेयस ऐयरले ४८, केएल राहुलले अविजित ३४ र अक्षर पटेलले २९ रन बनाएर टिमलाई जिततर्फ डोर्‍याए।

बलिङतर्फ कुलदीप यादव चम्किए। उनले दुई ओभरभित्रै लगातार दुई विकेट लिँदै खेल भारततर्फ फर्काइदिए।

उनले रचिन रविन्द्र र केन विलियमसनलाई पेभेलियन पठाएका थिए। न्यूजिल्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक ६३ रन बनाए।

प्रकाशित: २५ फाल्गुन २०८१ २२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App