सशस्त्र प्रहरी बलको एपिएफ क्लबले दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको उपाधि चुमेको छ। शनिबारको फाइनलमा अर्को विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो।
एपिएफको जितमा गीता राना र सविता रानामगरले गोल गरे। पहिलो हाफको २५औं मिनेटमा एपिएफकी गीताले गोल गरिन्। विपक्षी आर्मीले आफ्नो डि–बक्सभित्र एपिएफकी सविता रानालाई फाउल गरेपछि पाएको पेनाल्टीलाई गीताले सदुपयोग गरेकी थिइन्।
दोस्रो हाफमा एपिएफकी सविताले गोल गरी अग्रता दोब्बर बनाइन्। त्यसपछि आर्मीकी विमला चौधरीले जबाफी गोल गरेपनि जितका लागि पर्याप्त हुन सकेन। आर्मीले धेरै अवसर गुमायो भने एपिएफ सुरुबाटै आर्मीविरुद्ध हाबी भयो।
उपाधि जितेसँगै एपिएफले नगद चार लाख र उपविजेता आर्मीले नगद दुई लाख रुपैयाँ पाए। दुवै टिमलाई आकर्षक ट्रफी र खेलाडीलाई मेडल र प्रमाणपत्र दिइयो।
फाइनलको प्लेयर अफ दी म्याच एपिएफकी सविता रानामगर घोषित भइन्। उनले नगद ५ हजार पाइन्। उत्कृष्ट गोलरक्षक आर्मीकी अञ्जना राना, डिफेन्डर आर्मीकै विमला बिक, सर्वाधिक गोलकर्ता एपिएफकी रश्मिकुमारी घिसिङ, उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी भए। उनीहरूले नगद १०/१० हजार पाए। सर्वोत्कृष्ट खेलाडी एपिएफकी अनिता बस्नेत घोषित भइन्। उनले नगद १५ हजार पाइन्।
इलामस्थित क्लब ओएसिसको आयोजनामा फागुन १७ मा सुरु गोल्डकपमा आठ टिम सहभागी थिए। प्रतियोगितामा त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, डिफेन्डिङ च्याम्पियन भारतीय पाहुना टोली मानेभञ्ज्याङ, भारत उत्तर प्रदेशको मदर टेरेसा क्लब, ओखलढुङ्गाको पद्मा स्पोर्टिङ, बाग्मती यूथ क्लब र आयोजक सहभागी थिए।
प्रकाशित: २४ फाल्गुन २०८१ १८:५८ शनिबार