सन्यास घोषणा गरेका पूर्वकप्तान सुनिल क्षेत्रीलाई समेत समेट्दै मुख्य प्रशिक्षक मानोलो मार्क्वेजले भारतीय फुटबल टोलीको घोषणा गरेका छन्।
गत जुनमा मात्रै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका ४१ वर्षीय सुनिललाई मुख्य प्रशिक्षक मार्क्वेजले वर्ष दिन नपुग्दै २६ सदस्य टोलीमा समावेश गरेका हुन्। सुनिललाई यसै महिनाको अन्तर्राष्ट्रिय ब्रेकका लागि भारतीय राष्ट्रिय टोलीमा समावेश गरिएको हो। भारतले मार्च १९ मा माल्दिभ्सविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ।
लगत्तै भारतले मार्च २५ मा एएफसी एसियन कप २०२७ छनोटको अन्तिम चरणको उद्घाटन खेलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ। छनोट चरणमा भारतले हङकङ र सिंगापुरसँग पनि प्रतिस्पर्धा गर्नेछ। अहिलेसम्म एसिया कपको छनोट चरण पार गर्न नसकेको अवस्थामा प्रतियोगिताको महत्त्वलाई ध्यानमा राख्दै सुनिललाई टोलीमा बोलाएको प्रशिक्षक मार्क्वेजको भनाइ छ।
भारतबाट १५० खेल खेल्दै सुनिलले ९४ गोल गरेका छन्। विश्व फुटबलमा देशका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा उनी चौथो नम्बरमा छन्। सर्वाधिक गोल गर्नेमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनल मेस्सी र इरानका अली दाइपछि शीर्ष तीनभित्र छन्।
प्रकाशित: २३ फाल्गुन २०८१ १३:३७ शुक्रबार