खेल

विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्स खेल्ने नेपाली टोलीको बिदाइ

भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालले पनि भाग लिने भएको छ। यसका लागि ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार दिल्ली जानेछ । फागुन २३ देखि चैत १ गते ९मार्च ७ देखि १४० सम्म हुने प्रतियोगितामा ५ पुरुष र १ महिला खेलाडी सहभागी हुनेछन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीसहित खेल पदाधिकारीलाई बिहीवार एक कार्यक्रमबीच बिदाइ गरे ।

नवराज कार्की र गोविन्द गिरीले पुरुष ४ सय मिटर दौडमा प्रतिस्पर्धा गर्दा सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेलले चुनौती प्रस्तुत गर्नेछन् । डिस्कस थ्रोमा राजु गुरुङले सहभागिता जनाउने छन् ।

गोविन्दले ज्याभ्लिन थ्रोमा पनि प्रतिस्पर्धा गर्नेछन् । प्रभा आङदेम्बेले महिला २ सय र ४ सय मिटर दौड तथा लङजम्पमा भाग लिने छिन् ।

दिल्ली जाने टोलीमा अफिसियलमा राखेपकी सदस्य अन्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी तथा प्रशिक्षकमा विमला राना मगर रहेको राखेपले जनाएको छ ।

प्रकाशित: २२ फाल्गुन २०८१ १३:१६ बिहीबार