विभागीय टोली त्रिभुवन आर्मी क्लब केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा विभागीय टोली आर्मी संकटा क्लबलाई २–१ ले हराउँदै उपाधिनजिक पुगेको हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले समान एक गोल गरे।
खेलको सुरुआतमा नै गोल गर्दै दबाब बनाएको आर्मीले अन्तिमसम्म कायम राख्यो। नवयुगले खेलको सातौं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। कप्तान जिलेस्पीजंग कार्कीले राइट साइटबाट दिएको क्रसलाई नवयुगले वान टचमार्फत सुन्दर गोल गरेका हुन्। संकटाका दुई डिफेन्डरका बीच नवयुगले चालखीपूर्ण रूपमा बललाई जाली चुमाए।
१७औं मिनेटमा आर्मीका कप्तान जिलेस्पीजंगले पेनाल्टी बक्सबाट गरेको प्रहार सफल हुन सकेन। उनको प्रहार संकटाका कप्तान तथा गोलकिपर दीप कार्कीले पन्च गर्दै रोके। ३७औं मिनेटमा गोल गर्न चुक्दा संकटाले खेलमा फर्किने अवसर गुमायो। लामो पास नियन्त्रणमा लिएका माया क्रिस्टियन नजिकै दूरीबाट गोल गर्न चुके।
उनको वान टच पहिलो बार हुँदै बाहिरिन पुग्यो। त्यसपछि गोल हुन सकेन र पहिलो हाफमा आर्मी १–० ले अगाडि रह्यो। दोस्रो हाफमा दुवै तर्फबाट धेरै प्रयास भए। तर, दुवैले समान एक गोल मात्र गर्न सके। ६०औं मिनेटमा आर्मीका कप्तान जिलेस्पीजंगले करिब २५ यार्डबाट गरेको सशक्त प्रहार दोस्रो बारमा लागेर फर्किन पुग्यो।
तर, त्यसको पाँच मिनेटपछि नै पेनाल्टी अवसरबाट आर्मीले अग्रता दोब्बर बनायो। संकटाका अभिशेक लामाले जिलेस्पीजंगलाई पेनाल्टी बक्सभित्र लडाएपछि आर्मीले पेनाल्टी अवसर पायो। त्यो अवसरमा दिनेश हेम्जनले पनि गोल गरे।
७७औं मिनेटमा संकटाको खेलमा फर्कने प्रयास आर्मीका गोलकिपर विकेश कुथुले असफल बनाए। क्रिस्टियनको हेडरलाई कुथुले पन्च गर्दै बाहिर पठाइदिए। इन्जुरी समयमा संकटाले गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन। संकटाका विसन गुरुङले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए। त्यसपछिको बाँकी समयमा संकटाले थप गोल गर्न सकेन र आर्मी फाइनलमा पुग्यो।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शनिबार आयोजक केपी एफसी र मच्छिन्द्र एफसीबिच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल फागुन १९ गते हुनेछ। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका थिए।
फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रूपैयाँ पाउनेछन्। फाइनल खेल अवलोकन गर्न इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी बुफोन नेपाल आउने राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए।
प्रकाशित: १७ फाल्गुन २०८१ ०७:४५ शनिबार



