खेल

आर्मी र माउन्टेन मुभर्सलाई उपाधि

माउन्टेन मुभर्स र नेपाल आर्मीले खुला बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्।

नखिपोट युथ क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ ललितपुरद्वारा संयुक्त आयोजित प्रतियोगितामा आर्मी पुरुष र मुभर्स महिलामा च्याम्पियन भएका हुन्। दुवै अपराजित रहँदै उपाधि जित्न सफल रहे। नखिपोटस्थित आयोजक क्लबको कभर्डहलमा सम्पन्न पुरुषको फाइनलमा आर्मीले प्लेबक्सलाई १११–७१ को फराकिलो अन्तरले हराउँदै उपाधि उचालेको हो। आर्मीका निश्चल महर्जनले २८ अंक जोडे। उपाधिसँगै आर्मीले १ लाख र प्लेबक्सले ५० हजार नगद पुरस्कार प्राप्त गर्‍यो।

महिलाको उपाधि भिडन्तमा मुभर्सले कीर्तिपुरलाई ६२–५० ले हरायो। मुभर्सकी सम्झना शाहले १५ स्कोर गरिन्। राउन्ड रोविन लिमा पनि कीर्तिपुर मुभर्ससँग चुकेको थियो। मुभर्सले पहिलो क्वार्टरमा २०–१४, दोस्रोमा १८–१० र तेस्रोमा १८–१३ को अग्रता लिएको थियो।

यो नै जितको आधार पनि बन्यो। चौथो क्वार्टर कीर्तिपुरले १३–६ ले आफ्नो पक्षमा पारे पनि जितका लागि पर्याप्त भएन। विजेता मुभर्सले ५० हजार र उपविजेता कीर्तिपुरले २५ हजार नगद पुरस्कार पाए। प्रतियोगिताको पुरुषमा आर्मीका विनोद महर्जन र महिलामा भुमर्सकी छिरिङ छोकी शेर्पा मोस्ट भेलुएबल प्लेयर घोषित भए।

विनोदले २० हजार र छिरिङले १५ हजार नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर पाए। पुरुषमा अयोजक नखिपोटका सर्जोक पुन मगर तथा महिलामा आइएसए नेपालकी मिली लामा तामाङ उदीयमान खेलाडी चुनिए।

दुवैले जनही पाँच हजार नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर प्राप्त गरे। विजेतालाई नेपाल कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्य, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुरका अध्यक्ष एवं नखिपोट युथ क्लबका महासचिव पुनित गुरुङलगायतले पुरस्कृत गरे।  

प्रकाशित: १२ फाल्गुन २०८१ ०६:५८ सोमबार

# Nagarik # Open basketball tournament