इलाम नगरपालिकाले राष्ट्रपति रनिङ सिल्डको १५औं जिल्लास्तरीय प्रतियोगिता जितेको छ। जितमा खुसियाली मनाउँदै नगरका विद्यार्थीले आइतबार सदरमुकाममा विजय जुलुस प्रदर्शन गरेका छन् भने इलाम नगरले विजयीलाई सम्मानसमेत गरेको छ।
माई नगरपालिकाको शितली खेलमैदानमा फागुन ४ देखि ६ सम्म चलेको चलेको प्रतियोगितामा इलाम नगरले तेस्रो पटक सिल्ड उचालेको हो। इलाम नगरले २२ स्वर्ण, १३ रजत र आठ काश्य पदकसहित जिल्लाका बाँकी नौ पालिकालाई उछिनेको हो।
यो खुसियालीमा विद्यार्थी, इलाम नगरका जनप्रतिनिधि, कर्मचारीलगायतको संयुक्त र्यालीले टुँडिखेलदेखि इलाम चोकबजार–मालापथ हुँदै पुनः चोक बजार परिक्रमा गरेको थियो।
चोकबजारमा आयोजित कोणसभामा मेयर केदार थापाले विद्यार्थीलाई बधाई दिँदै सफलता हासिल गरेकामा नगरपालिका हर्षित भएको बताए। त्यसपछि नगरपालिकामा आयोजित समारोहमा मेयर थापाले विजयी खेलाडीलाई सम्मानपत्र र मायाको चिनोसहित सम्मान गरे।
सूर्याेदय नगरपालिका १८ स्वर्ण, १३ रजत र २० काश्य पदक पाएर दोस्रो बन्यो। १२ स्वर्ण, १२ रजत र २१ काश्य पदकसहित आयोजक माई नगरपालिका तेस्रो भयो।
जिल्ला खेलकुद विकास समितिको आयोजना र माई नगरको सहयोगमा सञ्चालित प्रतियोगितामा आठ सय ९५ विद्यार्थी (खेलाडी) सहभागी भए। प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट विधाका विभिन्न खेल सञ्चालन भएका थिए।
प्रकाशित: १२ फाल्गुन २०८१ ०६:५० सोमबार