खेल

पाकिस्तानमाथि भारतको जित, कोहलीले बनाए शतक

फाइल।

भारतले च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै २०१७ को फाइनलमा व्यहोरेको १८० रनको हारको बदला लिएको छ।

आइतबार दुबईमा पाकिस्तानले पहिला ब्याटिङ गर्दै २४१ रन बनाएको थियो। जवाफमा भारतले ४२.३ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

विराट कोहलीले टिमका लागि शतक प्रहार गर्दै अविजित रहे भने श्रेयस ऐयरले ५६ र शुभमन गिलले ४६ रन जोडे।

बलिङतर्फ कुलदीप यादवले ३ विकेट लिए। टिमका लागि हार्दिक पाण्ड्याले २ विकेट झारे।

पाकिस्तानका लागि सऊद शकीलले ६२ र मोहम्मद रिजवानले ४६ रनको योगदान दिए। बलिङतर्फ शाहीन अफ्रिदीले २ विकेट लिए। अबरार अहमद र खुशदिल शाहले १-१ विकेट हात पारे।

विराट कोहली एकदिवसीय क्रिकेटमा सर्वाधिक १५८ क्याच लिने भारतीय खेलाडी बनेका छन्। यसै खेलमा उनले १५ रन पूरा गर्ने बित्तिकै सबैभन्दा छिटो १४ हजार एकदिवसीय रन पूरा गरे।

कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीहरूको सूचीमा तेस्रो स्थानमा उक्लिँदै अस्ट्रेलियाका रिकी पोन्टिङलाई पछि पारे। उनको नाममा २७,४८३ रन छ।

भारतको जितमा विराट कोहली र कुलदीप यादव नायक बने। कोहलीले १११ बल खेल्दै १०० रन बनाए। रोहित शर्मा आउट भएपछि मैदानमा उत्रिएका उनले पारी सम्हाल्दै आक्रमणात्मक ब्याटिङ गरे।

कुलदीप यादवले ३ विकेट लिँदै पाकिस्तानको इनिङ्सलाई समेट्न महत्वपूर्ण भूमिका खेले। उनले डेथ ओभरमा सलमान आगा, शाहीन अफ्रिदी र नसीम शाहलाई आउट गर्दै पाकिस्तानलाई थप रन बनाउन रोक लगाए।

यो जितसँगै भारतले च्याम्पियन्स ट्रफीमा बलियो पकड जमाएको छ भने पाकिस्तानको सेमिफाइनल यात्रा थप जटिल बनेको छ।

प्रकाशित: ११ फाल्गुन २०८१ २२:४८ आइतबार