त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी चार राष्ट्र सम्मिलित इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलको पहिलो हाफमा नेपाल र म्यानमारबीच २-२ गोलको बराबरी कायम छ।
खेलको छैटाैं मिनेटमा म्यानमारकी म्याट नोए खिनले फ्रिकिक मार्फत गोल गर्दै म्यानमारलाई अग्रता दिलाइन्।
खेलको ११औं मिनेटमा नेपालले शानदार प्रतिवाद गर्दै बराबरी गोल फर्कायो। सावित्रा भण्डारीको बायाँ फ्ल्याङ्गबाट आएको पासलाई सविता राना मगरले गोलमा परिणत गर्दै नेपाललाई १-१ को स्थितिमा ल्याइन्।
म्यानमारले १६औं मिनेटमा पुनः अग्रता लियो। मे लुले चेस्लेले बललाई दुई नेपाली डिफेन्सको बीचबाट प्रहार गर्दै गोल गरिन्।
४०औं मिनेटमा सवित्रा भण्डारीले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याइन्। प्रीति राईले दिएको पासमा पेनाल्टी बक्सबाट बल अघि बढाउँदै सावित्राले सानदार फिनसिङ गरिन्।
पहिलो हाफसम्म दुवै टोलीको सङ्घर्ष र कौशल प्रकट गरे। यो खेल फाइनल अघिको तयारी खेल हो। यसअघि नेपाल र म्यानमार दुवैलेफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्।
प्रकाशित: ११ फाल्गुन २०८१ १८:५० आइतबार